राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाल र भारतबिच एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो। चारदिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपराह्न नेपाल आइपुगेका हुन्।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू एवं नेपालका लागि भारतका राजदूतको उपस्थिति थियो।