जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
सोमबार रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको प्रांगणमा जिल्ला प्रहरी कार्यालय, जाजरकोटको आयोजनामा तथा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) अमितकुमार ठाकुरको कमान्डमा ६ जना स्वास्थ्यकर्मी तथा जिल्ला प्रहरी कार्यालय, जाजरकोटबाट प्रहरी निरीक्षक राजेश शाहीको कमान्डमा सातजना प्रहरी कर्मचारीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका सूचना अधिकारी सुधीरकुमार खड्काले बताए।
स्वास्थ्य शिविरमा पहिरो प्रभावित ८५ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षणपछि आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको छ।
लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित स्थानीयवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख डिएसपी बुद्धिसागर पुरीले बताए।
शिविरबाट विपतबाट प्रभावित स्थानीयवासीलाई तत्काल स्वास्थ्य सेवा तथा आवश्यक औषधि उपलब्ध गराउन सहयोग पुगेको छ।