बागमतीमा १३ महिनामै ढल्यो कांग्रेस नेतृत्वको सरकार

मुख्यमन्त्री बानियाँले दिए राजीनामा

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउन नसकेपछि उनले सोमबार प्रदेश सभा बैठकमै राजीनामाको घोषणा गर्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका हुन् ।

विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशलाई लामो समय राजनीतिक अन्योलमा राख्नु उपयुक्त नहुने भन्दै मत विभाजनको प्रक्रियामा नगई पदबाट अलग हुने निर्णय सुनाएका थिए । त्यसपछि उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

बानियाँले ०८२ साउन २० गते नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नेपाली कांग्रेस र नेकपा (एमाले)को सत्तासाझेदारीमा गठन भएको सरकारले करिब १३ महिना प्रदेश सरकारको नेतृत्व गर्यो। तर, केन्द्रमा सत्तासमीकरण परिवर्तनसँगै एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

समर्थन फिर्तापछि संविधानअनुसार ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्री बानियाँमाथि आएको थियो। त्यसअनुसार उनले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, अन्तिम समयसम्म आवश्यक समर्थन सुनिश्चित हुन नसकेपछि उनले विश्वासको मतको सामना नगरी राजीनामा दिने निर्णय गरेका हुन् ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँले सरकारको निरन्तरताका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलसँग संवाद अघि बढाएका थिए। उनले एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा अन्य दललाई पत्राचार गर्दै प्रदेशमा राजनीतिक स्थायित्वका लागि सहयोग गर्न आग्रह गरेका थिए।

यसैबिच उनले हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउँदै एक मन्त्रीसमेत नियुक्त गरेका थिए। तर, त्यसले पनि सरकार जोगाउन आवश्यक अंकगणित पूरा गर्न सकेन।

सोमबार बिहान राप्रपा बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्ना सांसदलाई तटस्थ बस्न ह्विप जारी गरेपछि बानियाँको बहुमत जुटाउने सम्भावना झन् कमजोर बनेको थियो ।

१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार जोगाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक थियो। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसद मात्र खुलेका थिए। सरकार जोगाउन आवश्यक थप १५ सांसदको समर्थन जुटाउन नसकेपछि उनले अन्ततः पदबाट राजीनामा दिएका हुन्।

अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने

मुख्यमन्त्री बानियाँको राजीनामासँगै अब बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ। प्रदेश प्रमुखले संविधानको व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नेछन् ।

एमाले र नेकपाबिच नयाँ सत्तागठबन्धन बने पनि प्रदेश सभामा स्पष्ट बहुमतको अंकगणित अझै जटिल छ । यस्तो अवस्थामा आगामी सरकार गठनका लागि दलहरूबिचको राजनीतिक छलफल र शक्ति समीकरण निर्णायक हुने देखिएको छ।

राजीनामासँगै १३ महिनाअघि एमालेसँगको सहकार्यमा सुरु भएको कांग्रेस नेतृत्वको बागमती प्रदेश सरकारको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ ।
 

सुझावित समाचार