फक्ताङलुङका कृषकलाई साढे चार लाख अलैँची बिरुवा वितरण

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका कृषकलाई चार लाख ४४ हजार अलैँचीका बिरुवा वितरण गरिएको छ । पालिकामा रहेका सातवटा वडामध्ये ६ वटा वडामा अलैँची उत्पादन हुन्छ । ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई अलैँचीका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिए । इलामबाट ल्याइएका भार्लाङ, रामसाई र डम्बरसाई जातका अलैँचीका बिरुवा किसानलाई वितरण गरिएको हो । 

अध्यक्ष लिम्बूले गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त ५० लाख र गाउँपालिकाले प्रत्येक वडालाई उपलब्ध गराएको सात लाख रुपैयाँ बजेटबाट किसानलाई सहयोग गरिएको बताए । प्रदेश सरकारको बजेटबाहेक गाउँपालिकाबाट प्राप्त हुने सात लाख रुपैयाँका लागि वडाले आफ्नो कुल बजेटको १० प्रतिशत कृषि क्षेत्रमा छुट्याउनुपर्ने व्यवस्था गरिएको थियो । वितरण गरिएका बिरुवामध्ये भार्लाङ जातको संख्या सबैभन्दा धेरै तीन लाख १७ हजार ६ सय रहेको छ । त्यस्तै, रामसाई जातका ८६ हजार ६ सय र डम्बरसाई जानका ४० हजार सात सय बिरुवा रहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर १ सावादिनका किसानलाई भार्लाङ जातका २० हजार बिरुवा वितरण गरिएको छ । वडा नम्बर २ खेजेनिममा भार्लाङ जातका ५८ हजार एक सय र डम्बरसाई जातका ३० हजार एक सय बिरुवा वितरण गरएको छ । 
त्यस्तै, वडा न ३ लिङखिममा भार्लाङ जातको बिरुवा ३० हजार आठ सय र डम्बरसाईका चार हजार आठ सय बिरुवा वितरण गरएको छ ।

वडा नम्बर ४ इखाबुमा भार्लाङ ७४ हजार, रामसाई २४ हजार र डम्बरसाई चार हजार एक सय बिरुवा वितरण गरिएको अध्यक्ष लिम्बूले बताए । वडा नं ५ तापेथोकमा भार्लाङ ६९ हजार दुई सय, रामसाई ३३ हजार ६ सय र डम्बरसाई चार सय बिरुवा वितरण गरिएको छ । उता वडा नम्बर ६ लेलेपमा भार्लाङ ६५ हजार पाँच सय, रामसाई २९ हजार र डम्बरसाई एक हजार तीन सय बिरुवा वितरण गरिएको छ । ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्लामध्ये एक हो । जिल्लाका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत अलैँची खेती भएकाले गाउँपालिकाले उत्पादन बढाउने उद्देश्यले बिरुवा वितरणलाई प्राथमिकता दिएको जनाएको छ । 

सुझावित समाचार