दाङको तुलसीपुर उपमहानगरपालिका– ६, भगवतीटोलाका १९ वर्षीय जीवन बिकेलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा पाँचजनाविरुद्ध जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरिएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका– ५ स्थायी घर भई हाल तुलसीपुर– ६ राजापुर कोलोनी बस्ने नारायणप्रसाद श्रेष्ठ, तुलसीपुर– ११ स्थायी घर भई हाल तुलसीपुर– ५ रामनिवास बस्ने २२ वर्षीय हर्कबहादुर वली र म्याग्दीको धवलागिरि गाउँपालिका– ७ स्थायी घर भई हाल तुलसीपुर– ९ अटोभिलेज बस्ने १८ वर्षीय पदमबहादुर छन्त्याललाई प्रतिवादी बनाएको छ।
त्यसैगरी, घोराही उपमहानगरपालिका– ४ स्थायी ठेगाना भई हाल तुलसीपुर– २ बस्ने २१ वर्षीय प्रेमकुमार बुढामगर र तुलसीपुर– २, क्षत्रीपुर बस्ने २० वर्षीय उत्तरकुमार कँवर क्षेत्रीलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरू भने हाल फरार रहेको प्रहरीले जनाएको छ।
सरकारी वकिलको कार्यालयले शुक्रबार जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता गरेको हो।
मिसिलअनुसार प्रतिवादीहरूले साउन ९ गते साँझ करिब ५ः४५ बजे जीवन बिकेलाई रा.८प ४८२९ र रा.८प ४८०७ नम्बरका स्कुटरमा जबर्जस्ती राखी तुलसीपुरका विभिन्न स्थान हुँदै जंगल क्षेत्रमा पुर्याएका थिए। त्यहाँ उनीहरूले पीडितलाई डर–धम्की दिँदै कुटपिट गर्नुका साथै केही समय शरीर बन्धक बनाएर राखेको आरोप छ।
सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २११ र २१२ बमोजिम अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा प्रतिवादीहरूलाई सजाय र पीडितलाई उचित क्षतिपूर्ति भराउन मागदाबी गरेको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले प्रयोग भएका सवारीसाधन तथा सिसिटिभी फुटेजलाई प्रमाणका रूपमा अदालतमा पेस गरेको जनाएको छ।