मधेश प्रदेशमा सर्पदंशका बिरामीको उपचारमा अत्यावश्यक एन्टिस्नेक भेनमको अभाव चर्किएको छ। प्रदेशका विभिन्न अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा भेनमको मौज्दात घटेपछि एक अस्पतालले अर्को अस्पतालबाट मागेर उपचार गर्नुपर्ने अवस्था आएको छ।
एक साताअघि सिराहाको सुखीपुर नगरपालिका– २ का १६ वर्षीय ललतुनकुमार यादवलाई घरमै विषालु सर्पले डस्यो। उनलाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिए पनि अस्पतालमा एन्टिस्नेक भेनम नभएपछि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालबाट १५ भायल मगाएर उपचार गरिएको थियो। उपचारपछि यादव घर फर्किएका छन्।
त्यस्तै, गत मंगलबार फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका लागि पुगेका दुईजना सर्पदंशका बिरामीका लागि पनि भेनम अभाव भएपछि चोहर्वाबाट २० भायल मगाउनुपरेको थियो।
सिराहाको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, सिराहा प्रादेशिक अस्पताल तथा नेपाली सेनाको नन्दा बक्स गणमातहतका चोहर्वा र बन्दीपुरस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा भेनमको अभाव छ। चिकित्सकहरूका अनुसार सर्पदंशका एक बिरामीलाई अवस्था हेरेर १० देखि २०–२५ भायलसम्म भेनम आवश्यक पर्न सक्छ।
लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशका अनुसार अस्पतालमा दैनिक औसत चारजना सर्पदंशका बिरामी आउने गरेका छन्। पछिल्लो एक महिनादेखि काठमाडौं, राजविराज तथा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट भेनम मगाएर उपचारलाई निरन्तरता दिइएको उनले बताइन्।
‘तत्कालका लागि अस्पतालको आफ्नै स्रोतबाट भेनम खरिद गर्न खोजिएको भए पनि सप्लायर्स नै भेटिएनन्,’ उनले भनिन्, ‘संघीय मन्त्रालयको आग्रहमा गण्डकी प्रदेशबाट मधेश प्रदेशमा प्राप्त भएकामध्ये ३० भायल गत मंगलबार प्राप्त भएको छ। अहिले ५० भायल स्टकमा छ। अन्यत्र पनि खोजिरहेका छौँ।’
सिराहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनील कुसवाहले अस्पतालमा करिब तीन महिनादेखि भेनमको अभाव रहेको बताए। सिराहा नगरपालिकासहित अर्नमा र औरहीसम्मका क्षेत्रबाट सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको उनले बताए।
‘अस्पतालसँग रहेको स्टकबाट इमर्जेन्सीका लागि लहान, चोहर्वा, कलैया र बर्दिबासलाई ५८० भायल भेनम दियौँ,’ उनले भने, ‘हाम्रो अस्पतालमा आउने बिरामीका लागि अहिले करिब ४० भायल स्टकमा छ। त्यसैबाट काम चलाइरहेका छौँ।’
चोहर्वा गणका प्रमुख सेनानी समीर श्रेष्ठका अनुसार चोहर्वा र बन्दीपुरस्थित सर्पदंश उपचार केन्द्रमा दैनिक औसत पाँच–पाँचजना बिरामी आउने गरेका छन्। ती केन्द्रमा प्रयोग हुने एन्टिस्नेक भेनमको मौज्दात पनि रित्तिन लागेको उनले बताए।
‘विषालु सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएका बिरामीका लागि भेनम नभएकाले उपचार गर्न सक्दैनौँ भन्ने स्थिति सिर्जना भएको छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा बिरामीको मृत्यु पनि हुन सक्छ।’
मधेश प्रदेशभरका स्वास्थ्य संस्थामा औषधि आपूर्ति गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा अहिले २० भायल मात्र एन्टिस्नेक भेनम रहेको छ।
केन्द्रका निर्देशक डा. नागेन्द्रप्रसाद यादवका अनुसार १० लाख रुपैयाँबराबरको भेनम खरिदका लागि प्रक्रिया अघि बढाइएको छ। खरिद प्रक्रिया पूरा गरेर भेनम आपूर्ति हुन कम्तीमा एक साता लाग्ने उनले बताए।
भेनमको मौज्दात अत्यन्त न्यून रहेकाले नयाँ आपूर्ति नहुँदासम्म अस्पतालहरूले एक–अर्काबाट औषधि मागेर तत्कालीन आवश्यकता धानिरहेका छन्।