इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै भूकम्पको पीडा भोगिसकेको नेपालले प्राकृतिक विपतबाट उत्पन्न हुने दुःख र क्षतिलाई गहिरो रूपमा महसुस गरेको जनाएको छ।
नेपाल सरकार र नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार तथा जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै मन्त्रालयले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
वक्तव्यमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित, बेपत्ता तथा विस्थापित नागरिकको सुरक्षा, राहत र पुनर्स्थापनाको कामना गरिएको छ।