ललितपुरको टीकाथली बस्ने २१ वर्षीय पुष्पेश भाटले प्रहरीको अनुसन्धानलाई प्रभावित तुल्याउन आफैँले अपहरणको अफवाह फैलाएको खुलेको छ । क्रिप्टो कारोबारमा संलग्न रहेको देखिएपछि प्रहरीले भाटलाई कोटेश्वरस्थित नरेफाँटबाट गत २३ साउनमा पक्राउ गरेको थियो । त्यसलगत्तै उनले भाइ शुभम भाटमार्फत आफू अज्ञात समूहबाट अपहरणमा परेको बताएका थिए । उनीविरुद्ध अहिले अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ ।
प्रहरी वृत्त मालीगाउँको हिरासतमा रहेका भाटको सामाजिक सञ्जालमा दर्जनौँ नक्कली आइडी रहेको र क्रिप्टो कारोबारमा समेत संलग्न रहेको आशंकापछि पक्राउ गरिएको जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बताए । ‘भाट क्रिप्टो कारोबारमा संलग्न रहेको सूचना प्राप्त भयो । उनको दर्जनौँ नक्कली आइडी पनि रहेको देखियो । अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई प्रहरीले पक्राउ गर्यो । तर, उनले आफू अज्ञात समूहबाट अपहरणमा परेको भन्दै अफवाह फैलाउने काम गर्यो । उनीविरुद्ध अहिले अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप भई अनुसन्धान भइरहेको छ,’ उनले भने ।
प्रहरीका अनुसार उनको गतिविधि शंकास्पद देखिएपछि कार्यालय उपस्थित हुन पटक–पटक भनेको थियो । तर, उनले प्रहरीलाई विभिन्न माध्यमबाट धम्की दिँदै आएका थिए । त्यसपछि प्रहरी उनको खोजीमा जुटेको थियो । गत २३ साउनको अपराह्न उनको लोकेसन नरेफाँट देखिएपछि प्रहरी घटनास्थल पुगेको थियो । सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले भने आफू अज्ञात समूहबाट अपहरणमा परेको भन्दै अफवाह फैलाउन लगाएका थिए ।
प्रहरीले अभिभावक बोलाउनसमेत भनेका थिए । तर, उनले अभिभावक नबोलाउने बरु हिरासतमै बस्ने अड्डी कसेका थिए । दुई दिनसम्म पनि नबोलाएपछि प्रहरी आफैँ उनको अभिभावकको सम्पर्कमा पुगेका थिए । अभिभावक पनि उनको अस्वाभाविक हर्कतबारे जानकार रहेको र पटक–पटक भन्दा पनि उनले त्यस्ता हर्कत नरोकेको काठमाडौंपरिसरका प्रवक्ता एसपी थापाले बताए । ‘पक्राउ परेपछि उनले बरु आफू अपहरणमा परेको अफवाह फैलाउन लगाए । तर, अभिभावकलाई बोलाउन मानेनन् । दुई दिनसम्म पनि अभिभावक नबोलाएपछि प्रहरी आफैँ सम्पर्कमा पुग्यो । कुरो बुझ्दा उनको यस्तो हर्कतबारे अभिभावक पनि जानकार रहेछन् । उनीहरूले रोक्न पनि भनेका रहेछन् । तर, अटेर गर्दै आएका रहेछन्,’ उनले भने ।