पूर्वी नेपालको समृद्धिसँग जोडिएको तमोर करिडोरमा पर्ने आठवटा मोटरेबल पुल निर्माण निकै सुस्त भएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलहरू चारपटक म्याद थप्दासमेत बन्न सकेका छैनन् ।
धनकुटा मूलघाटको लावरबोटेदेखि पाँचथरको हेवाखोलासम्म तमोर करिडोरअन्तर्गत आठवटा निर्माणाधीन मोटरेबल पुल निर्माणका लागि ठेक्का लागेको पाँच वर्ष भइसकेको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको करिब एक सय १२ किलोमिटर सडकखण्डमध्ये हालसम्म ७७ किलोमिटर कालोपत्रे भइसकेको छ । तर, यही सडकखण्डमा निर्माण भइरहेका आठवटा मोटरेबल पुलमध्ये दुईवटाको काम सुरु नै भएको छैन । निर्माणको चरणमा रहेका पुलको प्रगतिसमेत सन्तोषजनक छैन ।
तमोर करिडोरको मूलघाट–गणेशचोक खण्डमा निर्माणाधीन आठवटा पुलमध्ये दुईवटाको निर्माण अझै सुरु भएको छैन । तमोर करिडोर पुल सेक्टर कार्यालय धरानका इन्जिनियर नवीनकुमार साहका अनुसार लारिप्पा र हेवाखोलामा पुल निर्माणको काम सुरु नभएको हो । नावाखोला, लखुवाखोला, लोरिपाखोला र हेवाखोला गरी चारवटा खोलामा पुल निर्माणको ठेक्का शर्मा सगुन जेभीले १३ फागुन ०७८ मा लिएको थियो । ती चार खोलामा पुल निर्माणका लागि ३७ करोड २१ लाखमा ठेक्का सम्झौता भएको साहले बताए । निर्माण सुरु भएका पुलमध्ये नावाखोलाको पुलको भौतिक प्रगति करिब ७५ प्रतिशत र लखुवा पुलको प्रगति ३० प्रतिशत छ ।
त्यस्तै रगुवाखोला, कम्बुवाखोला र भगुवाखोला तीन पुलको ठेक्का कुमार श्रेष्ठ स्वामीनारायण आशीर्वाद जेभीले २२ करोड ५२ लाख रुपैयाँमा लिएको थियो । ठेक्का सम्झौताअनुसार ती तीनवटा पुल १५ फागुन ०८१ मा बनाइसक्नुपर्ने थियो । तर, रगुवाखोलाको प्रगति ३० प्रतिशत मात्रै छ ।
चारपटक म्याद थप्दा पनि अझै सकिएन छरुवाखोलाको पुल
तमोर करिडोरमा निर्माण भइरहेका आठवटा पुलमध्ये छरुवाखोलाको पुल सबैभन्दा लामो हुनेछ । यसको लम्बाइ एक सय ६५ मिटर रहेको तमोर करिडोर पुल सेक्टर कार्यालय, धरानका इन्जिनियर नवीनकुमार साहले बताए ।
नावाखोला र लखुवाखोलामा निर्माण हुने पुलको लम्बाइ १५०–१५० मिटर हुनेछ । हेवा, बगुवा र कम्बुवाखोलामा ४०–४० मिटर लम्बाइका पुल निर्माण हुनेछन् भने लारिप्पा खोलामा २० मिटर लामो पुल निर्माण भइरहेको छ । सडकको ठुलो हिस्सा कालोपत्रे भइसकेर सवारी आवागमन सहज बन्दै गए पनि पुल निर्माणमा भएको ढिलाइले तमोर करिडोरको पूर्ण उपयोगमा अवरोध सिर्जना गरेको छ ।