नाइमा एक्स्पोको आज अन्तिम दिन

पाँच दिनमै डेढ लाखभन्दा बढीले गरे अवलोकन

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आइतबार समापन हुँदै छ । २६ साउनदेखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

आयोजकका अनुसार शनिबार एकै दिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन् । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या डेढ लाख नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । ‘मेला पूर्ण रूपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नैपरेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ ।’

उद्घाटनका दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडेलका सवारीसाधन सार्वजनिक गरेर आयतकर्ता कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् । नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अवलोकनकर्ताको भव्य उपस्थितिले मेलालाई सफल बनाएको बताइन् । पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठुलो संख्यामा अवलोकनकर्तालाई आकर्षित गर्न सक्नु नाइमाको सफलता भएको धारणा राखे ।

विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भनेजस्तो सवारीसाधन छान्न सहज भएको आयोजकको दाबी छ । नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने अवसर भएको अवलोकनकर्ताले बताएका छन् । अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी–ग्यारेन्टी, रिसेल भ्यालुलगायतका विषयमा चासो राखेका छन् ।

See More On

सुझावित समाचार