वातावरण संरक्षण र रुख बिरुवाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको ‘ट्री अफ द इयर नेपाल २०२६’ को राष्ट्रिय उपाधि कोशी प्रदेशका प्रणय धाख्वाले जितेका छन्।
काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सातै प्रदेशका प्रादेशिक विजेताले आफ्ना वृक्षसँग जोडिएका प्रेरणादायी कथा प्रस्तुत गरेका थिए। ती प्रस्तुतिका आधारमा धाख्वा प्रथम, मधेश प्रदेशका महमद जावेद आलम प्रथम रनरअप तथा लुम्बिनी प्रदेशका अनिश खनाल द्वितीय रनरअप घोषित भएका हुन्।
विजेता धाख्वाले ५० हजार रुपैयाँ नगद पुरस्कार, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे। प्रथम रनरअप आलमले २५ हजार रुपैयाँ नगद, गिफ्ट ह्याम्पर र प्रमाणपत्र तथा द्वितीय रनरअप खनालले १५ हजार रुपैयाँ नगद, गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे।
कार्यक्रममा कोशी प्रदेशका प्रणय धाख्वा, मधेशका महमद जावेद आलम, बागमतीकी ओजस्वी थापा, गण्डकीकी निशा मिश्र, लुम्बिनीका अनिश खनाल, कर्णालीका जीवन गिरी र सुदूरपश्चिमकी मोनिका भट्टले प्रदेशबाट छनोट भएका वृक्षका कथा प्रस्तुत गरेका थिए।
क्रिएसनका संस्थापक आनन्द मिश्रले संस्थाको वातावरण संरक्षणसँग जोडिएको यात्राबारे जानकारी दिँदै ‘एसियन ट्री अफ द इयर’बाट प्रेरित भएर क्रिएसनले सन् २०१७ मा ‘ट्री अफ द इयर नेपाल’ अभियान सुरु गरेको बताए।
उनले नयाँ बिरुवा रोप्नु आवश्यक भए पनि त्यसलाई ठुलो रुख बन्न वर्षौं लाग्ने भएकाले पहिल्यै हुर्किसकेका पुराना रुख र विद्यमान वन संरक्षण गर्नु अझ महत्त्वपूर्ण रहेको बताए।
क्रिएसनकी महासचिव रोश्ना सुवेदीले जैविक विविधता र वातावरण संरक्षणका लागि रुखको विविधता जोगाउनु आवश्यक रहेको बताइन्। उनले प्रकृति संरक्षण कुनै एउटा धर्म, समुदाय वा विश्वास प्रणालीसँग मात्र सम्बन्धित विषय नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिन्।