नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङमा बसले पार्किङ गरेर राखिएको विद्युतीय माइक्रो भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकअगाडि रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली इभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र इभी भ्यान सडकबाट करिब ३०-४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते पाँचैजनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुईजनालाई मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्। उनीहरू तीनैजनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बसचालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।