कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा भन्छन्– निर्णायक अवस्थामा इतरपक्षका कार्यकर्ताले पार्टी रोज्नेछन्

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

कांग्रेस इतरपक्षको राष्ट्रिय भेला चलिरहेका वेला २४ साउनदेखि बसेको संस्थापन पक्षको केन्द्रीय समितिको शुक्रबारको बैठकमा १२ जना नेताले धारणा राखेका छन् । बैठकमा उपसभापति विश्वप्रकाश शर्मा, नेतृ सुजाता कोइरालासहित सहमहामन्त्री बहादुरसिंह लामा तथा केन्द्रीय सदस्यहरू रमेश रिजाल, अर्जुनप्रसाद जोशी, ई. मोहन आचार्य, नानु बाँस्तोला, अजयबाबु सिवाकोटी, दिनेश कोइराला, शम्भुबहादुर बुढाथोकी, अनिलकुमार झा र केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभापति उद्धव थापाले धारणा राखेका छन् ।

यसैबिच बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति शर्माले इतरपक्षको भेलामा सहभागी नेता–कार्यकर्ताको भावनात्मक पक्षलाई आफूले सम्मान गर्ने भन्दै निर्णायक परिस्थिति आउँदा उनीहरूले व्यक्ति नभई पार्टी रोज्ने विश्वास व्यक्त गरेका छन् । ‘भेलामा आउनुभएका साथीहरूसँग संवाद भएको छ । उहाँहरू एउटा कुरामा स्पष्ट हुनुहुन्छ– व्यक्तिप्रतिको निष्ठा एकातर्फ हुन्छ, संस्थाप्रतिको निष्ठा अर्कोतर्फ । व्यक्ति र संस्थामध्ये एउटासँगको निष्ठा रोज्नुपर्ने दिन व्यक्तिभन्दा पार्टी, संस्था र सिद्धान्तप्रतिको निष्ठालाई उहाँहरूले गहिरो रूपमा हेक्का राख्नुहुन्छ, राख्नुभएको छ,’ शर्माले भने ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेतृ सुजाता कोइरालाले इतरपक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुँदै एकताको पक्षमा उभिन आग्रह गरिन् । ‘गिरिजाबाबु सधैँ भन्नुहुन्थ्यो– कांग्रेस जबजब बलियो र लोकप्रिय हुन्छ, तबतब यसका विरुद्ध अनेक षड्यन्त्र सुरु हुन्छन् । आज ठिक त्यस्तै अवस्था देखिएको छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने । उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद सभापति गगन थापाले पार्टीलाई अत्यन्तै कुशल र परिपक्व ढंगले अघि बढाइरहेको दाबीसमेत गरिन् ।

सुझावित समाचार