देउवालाई सुजाताको आग्रह– अब पदका लागि नलड्नुस्, अभिभावक बन्नुस्

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण
देउवालाई सुजाताको आग्रह– अब पदका लागि नलड्नुस्, अभिभावक बन्नुस्

फाइल तस्बिर

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको इतर पक्षलाई अहंकार त्यागेर मूल प्रवाहमा समाहित हुन र एकताको पक्षमा उभिन आग्रह गरेकी छिन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेतृ कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पदको लडाइँ छाडेर अभिभावकीय भूमिका निर्वाह गर्न र त्याग देखाउन सुझाव दिइन्।

राष्ट्रप्रतिको जिम्मेवारीबोध गर्दै पद र गुटभन्दा माथि उठेर एकताबद्ध हुन आह्वान गरेकी उनले सभापति गगनकुमार थापा सबै पक्षप्रति लचिलो र जिम्मेवार रूपमा प्रस्तुत भइरहेको भन्दै उनको नेतृत्व शैलीको प्रशंसा गरिन्।

बैठकमा आफ्ना पिता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै नेतृ कोइरालाले भनिन्, ‘गिरिजाबाबुले सधैँ भन्नुहुन्थ्यो– कांग्रेस जबजब बलियो र लोकप्रिय हुन्छ, तबतब यसका विरुद्ध अनेक षड्यन्त्रहरू सुरु हुन्छन्। आज ठिक त्यस्तै अवस्था देखिएको छ।’ उनले बाह्य तथा आन्तरिक षड्यन्त्रका बाबजुद सभापति थापाले पार्टीलाई अत्यन्तै कुशल र परिपक्व ढंगले अगाडि बढाइरहेको बताइन्।

सुरुवाती दिनमा थापाले पार्टी कसरी हाँक्लान् भन्ने आफूलाई चिन्ता लागेको स्मरण गर्दै उनले अहिले थापाले आफ्नो कार्यक्षमता र व्यवहारबाटै सफल नेतृत्व प्रमाणित गरिसकेको जिकिर गरिन्। थापाको सभापतित्वपछि पार्टीमा नयाँ पुस्ता र युवाहरूको व्यापक आकर्षण बढेको दाबी गर्दै उनले भनिन्, ‘अबको पाँच वर्षपछि हुने आमनिर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउनेछ, साथै सातै प्रदेश र स्थानीय तहहरूमा समेत कांग्रेसकै वर्चस्व र बहुमत कायम हुनेमा म पूर्ण विश्वस्त छु।’

सुझावित समाचार