सात दिनभित्र कार्यतालिका बुझाउन बागमती सरकारलाई प्रदेश अर्थसमितिको निर्देशन

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश अर्थ तथा विकास समितिको तीनबुँदे निर्देशन सात दिनभित्र कार्यतालिका बुझाउन सरकारलाई आदेश

बागमती प्रदेश सभाअन्तर्गतको अर्थ तथा विकास समितिले प्रदेशका विकास निर्माणका कामलाई तीव्र, पारदर्शी र नतिजामुखी बनाउन सरकारलाई तीनबुँदे निर्देशन दिएको छ।

समितिले सम्पन्न भएका आयोजनाको विवरण सार्वजनिक गर्नेदेखि राजधानी हेटौँडाको बहुप्रतीक्षित राप्ती खोला तटबन्धसहितको बाइपास निर्माणलाई शीघ्र अघि बढाउन र चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको स्पष्ट कार्यतालिका सात दिनभित्र पेस गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको हो।

प्रदेश सभा सचिवालय, हेटौँडामा बिहीबार बसेको समितिको बैठकले विकास आयोजनामा देखिएको ढिलासुस्ती, सूचना अभाव र बजेट कार्यान्वयनको प्रभावकारिताप्रति चासो व्यक्त गर्दै तीनबुँदे निर्देशन जारी गरेको हो। समिति सभापति नुरज बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विकास आयोजनाको पारदर्शिता र जवाफदेहिता बढाउन विशेष ध्यान दिन आग्रह गरेको छ।

समितिले मन्त्रालयअन्तर्गत हालसम्म सम्पन्न भएका सबै आयोजना, तिनको लागत, प्रगति र उपलब्धिसहितको विस्तृत विवरण सर्वसाधारणको पहुँचमा पुग्ने गरी नियमित रूपमा सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयको वेबसाइट वा अन्य उपयुक्त माध्यमबाट आयोजनासम्बन्धी जानकारी प्रकाशन गर्नुपर्ने समितिको भनाइ छ। यसबाट विकास निर्माणका काममा पारदर्शिता बढ्नुका साथै नागरिकले पनि आयोजनाको प्रगति सहज रूपमा जानकारी पाउने विश्वास समितिले व्यक्त गरेको छ।

बैठकले प्रदेश राजधानी हेटौँडाको ट्राफिक व्यवस्थापन र बाढी नियन्त्रणसँग जोडिएको राप्ती खोला तटबन्धसहितको चौकीटोल–चुरियामाई बाइपास निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएको छ। लामो समयदेखि चर्चामा रहे पनि अपेक्षित गति लिन नसकेको उक्त आयोजनाको निर्माण प्रक्रिया यथाशीघ्र सम्पन्न गर्न तथा कार्यप्रगतिको नियमित जानकारी समितिलाई उपलब्ध गराउन मन्त्रालयलाई भनिएको छ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ मा स्वीकृत भएका बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सात दिनभित्र विस्तृत कार्यतालिका तयार गरी समितिमा पेश गर्न पनि निर्देशन दिइएको छ। समितिले बजेट स्वीकृत भए पनि कार्यान्वयनमा ढिलाइ हुने विगतको प्रवृत्ति दोहोरिन नदिन सुरुदेखि नै स्पष्ट योजना बनाएर काम अघि बढाउन जोड दिएको छ।

बैठकमा गत आर्थिक वर्षको भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गरिएको थियो। साथै चालु आर्थिक वर्षका योजना कार्यान्वयनका लागि मन्त्रालयले गरेको तयारीबारे विस्तृत छलफल भएको थियो। छलफलका क्रममा समितिका सदस्यहरूले विकास आयोजनामा हुने ढिलाइ, लागत वृद्धि र बजेट खर्चको कमजोर अवस्थाप्रति चासो व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न सरकारलाई सचेत गराएका थिए।

समितिले विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती नगर्न, स्वीकृत बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न तथा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न मन्त्रालयलाई आग्रह गरेको छ।

बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्य, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक नवीनकुमार सिंह तथा पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारी सहभागी थिए।

सुझावित समाचार