आधिकारिक सूचनालाई मात्र आधार बनाउन एनआइएमबीको अनुरोध

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ। बैंकले प्रेस विज्ञप्ति जारी गर्दै बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘यस घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रही संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्वाध रूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।

बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोगका लागि बैंकले आग्रह गरेको छ।

‘बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, सेयरधनी महानुभावहरू तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वासप्रति बैंक हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ बैंकले भनेको छ।

सुझावित समाचार