बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा खारेज गर्न फेकोफनको माग

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडिमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय खारेज गर्न माग गरेको छ।

महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सामुदायिक वनमाथि स्थानीय समुदायको अधिकार हनन हुने गरी संरक्षण क्षेत्र घोषणा र विस्तार गर्ने कार्यप्रति गम्भीर असहमति जनाएको हो।

संरक्षणका नाममा विभिन्न संरक्षित तथा वन संरक्षण क्षेत्र घोषणा गर्दा वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जनमा असर परेको, मानव अधिकार उल्लंघन भएको र लोकतान्त्रिक तथा सामुदायिक अधिकारको अभ्यासमा अवरोध सिर्जना भएको महामहासंघका अध्यक्ष ठाकुर भण्डारीले बताए।

महासंघले वन संरक्षण क्षेत्र घोषणा गरिएका क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूहहरूको अधिकार कमजोर हुँदै गएको भन्दै बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न प्रदेश सरकारसँग आग्रह गरेको छ।

नेपालको कुल भू–भागको झन्डै ४५ प्रतिशत क्षेत्र संरक्षित क्षेत्रमा परिणत भइसकेको दाबी गर्दै महासंघले थप वन संरक्षण क्षेत्र घोषणा गर्नुको सट्टा विद्यमान संरक्षित क्षेत्रसम्बन्धी व्यवस्थाको पुनरवलोकन गर्नुपर्ने जनाएको छ।

महासंघले वन तथा जैविक विविधता संरक्षणको नाममा स्थानीय समुदायको अधिकार खोसेर वन क्षेत्रमाथिको अधिकार संघ तथा प्रदेश सरकारमा केन्द्रित गर्ने प्रयास भइरहेको आरोपसमेत लगाएको छ। यस्तो प्रक्रियाबाट वन क्षेत्र नाफामुखी निजी क्षेत्र, राजनीतिक पहुँच भएका वर्ग तथा गैरबैंकिङ कारोबारमा रहेको अवैध रकम लगानी गर्ने समूहलाई दीर्घकालीन लिजमा दिने वातावरण बन्न सक्ने महासंघको आशंका छ।

सामुदायिक वन उपभोक्ता समूहहरूले वर्षौंदेखि वन तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको दाबी गर्दै महासंघले समुदायको अधिकार सुनिश्चित नगरी गरिने संरक्षणका कार्यक्रम स्वीकार्य नहुने बताएको छ।

महासंघले वनमाथिको स्थानीय समुदायको अधिकार खोस्ने, मानव अधिकारको उल्लंघन गर्ने तथा संरक्षणका नाममा समुदायको सम्पत्ति नाफामूलक निजी क्षेत्रलाई सुम्पिने उद्देश्यले अघि बढाइएका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न नेपाल सरकार र प्रदेश सरकारलाई आग्रह गरेको छ।

अल्ममतमा रहेको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार मात्र मन्त्रिपरिषद्बाट निर्णय गर्दै संरक्षण क्षेत्र घोषणा गरेका थिए।

सुझावित समाचार