म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिकामै करदाता सेवा सञ्चालन गरेको छ। गाउँपालिकाले साबिकमा आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूबाट प्रदान हुँदै आएका विभिन्न सेवाहरू स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले करदाता सेवा सुरु गरेको हो।
आन्तरिक राजस्व कार्यालय बागलुङ र गाउँपालिकाबिच भएको समझदारीबमोजिम करदाता सेवा सञ्चालन गरिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए । उनका अनुसार, यस सेवा सञ्चालन गरेसँगै अब पालिकाको कार्यालयबाटै गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्न सुरु गरिएको छ भने गाउँपालिकाभित्र दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्थासमेत गरिएको छ।
यसैगरी स्थायी लेखा नम्बर दर्तासम्बन्धी संशोधन कार्य, दर्ता खारेज भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने तथा आवश्यक परे आन्तरिक राजस्व कार्यालय, बागलुङबाट सेवा प्रदान गर्ने कार्यका लागि रेफर गर्ने व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ ।
एक कार्यक्रमबिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले व्यावसायिक र व्यक्तिगत लेखा नम्बरको प्रमाणपत्र प्रदान गरेर सेवाको शुभारम्भ गरेका छन् । कार्यक्रममा अनु अश्विनी कृषि तथा पशुपक्षी फर्मका सञ्चालक भदेवी तिलिजालाई व्यावसायिक र माधव भण्डारीलाई व्यक्तिगत लेखा नम्बरको प्रमाणपत्र प्रदान गरिएको थियो ।
साबिकको धवलागिरी अञ्चलका म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङमा रहेका स्थानीय तहहरूमध्ये रघुगंगा करदाता सेवा सञ्चालन गर्ने छैटाैँ पालिका बनेको प्रमुख कर अधिकृत सिलवालले जानकारी दिए । उनले संघीयताको मर्मबमोजिम संघीय सरकारले करदाता सेवालाई स्थानीय तहमा विकेन्द्रित गर्ने नीतिअनुरूप पालिकाहरूको व्यवस्थापकीय जिम्मेवारीबमोजिम सेवालाई विस्तार गर्ने काम भइरहेको बताए ।
म्याग्दीमा यसअघि बेनी नगरपालिकामा करदाता सेवा सञ्चालन भइसकेको छ । करदाता सेवाले नागरिकलाई समय र आर्थिक बचत गराउने गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
पहाडी र दुर्गम गाउँबस्तीलाई समेत समेटेको गाउँपालिकाका नागरिकलाई करसेवासम्बन्धी सेवा लिन बागलुङ पुग्नुपर्ने बाध्यता हटाउन पालिकाले करदाता सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ रघुगंगा इकाइका अध्यक्ष रमेश शर्माले ग्रामीण भेगका नागरिक र व्यवसायीहरूलाई यो सेवाले राहत मिल्ने बताए ।