नाम र संरचना प्रादेशिक अस्पताल, सेवा आधारभूत स्वास्थ्य केन्द्रको जस्तै

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनको चार वर्षमा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेन

झापाको कमल गाउँपालिका– ६, लखनपुरमा प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालन भएको चार वर्ष पूरा भयो । कोशी प्रदेश सरकारले ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल भनेर यो अस्पताल सञ्चालन गर्दै आएको छ ।

नाम प्रादेशिक अस्पतालको छ भने संरचना पनि ५० शय्याको अस्पतालको मापदण्डअनुसारकै छ । तर, यसको सेवा भने स्थानीय तहले सञ्चालन गरेका आधारभूत स्वास्थ्य केन्द्रको भन्दा फरक छैन । दुई बिघा क्षेत्रफलमा २० करोड ६३ लाख लागतमा भव्य संरचना बनाएर ५ भदौ ०७९ देखि सञ्चालनमा आएको प्रादेशिक आयुर्वेद अस्पताल हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

बिरामी पनि दैनिक ५०–६० जना मात्रै आउने गरेको प्रादेशिक आयुर्वेद अस्पतालका निर्देशक डा. रवीन्द्र निरौला बताउँछन् । प्रादेशिक अस्पताल भएपछि इमर्जेन्सी सेवा तथा बिरामी भर्ना गरेर उपचार गर्नुपर्ने हो । तर, यो अस्पतालमा न त इमर्जेन्सी सेवा नै छ, न त बिरामी भर्ना गरेर नै नियमित उपचार हुन्छ ।

आक्कलझुक्कल बिरामी भर्ना गरिन्छ भने अन्य ठाउँबाट विशेषज्ञ चिकित्सक आएको समयमा महिनाको एकपटक शल्यक्रिया सुविधा दिइन्छ । सरकारी बिदामा हप्ताको दुई दिन अस्पताल पनि बन्द रहन्छ ।

नाम प्रादेशिक आयुर्वेद अस्पताल भए पनि एकपटक आएपछि बिरामीको विश्वास कम हुने गरेको छ । ‘ठुलो अस्पताल छ भनेर साथीले भनेपछि उपचारका लागि आएँ । तर, मान्छे थोरै हुने रहेछन् । योभन्दा धेरै मान्छे त हाम्रो पालिकाले चलाएको अस्पतालमा हुन्छन्,’ मोरङ लेटाङ– ४ बाट उपचारका लागि आएका कमल राई भन्छन्, ‘अप्रेसन (शल्यक्रिया) तत्काल गर्नुपर्यो भने पनि नहुने रहेछ । इमर्जेन्सी भर्ना पनि हुँदैन रहेछ । यसले त विश्वास गरेर आएको पनि कतै ठिक हुँदैन कि भन्ने पो लाग्ने रहेछ ।’

नसासम्बन्धी रोग भएका कमल– ७ का ७६ वर्षीय विष्णुप्रसाद संग्रौलालाई यो अस्पतालको उपचार पद्धतिले काम गरेको छ । तर, अस्पतालको सेवा वृद्धि गर्न भने आवश्यक रहेको उनी बताउँछन् । ‘आयुर्वेद उपचार पद्धति विश्वास गर्नलायकको छ । मलाई अरू अस्पतालमा जाँदा ठिक नभएको यहाँ हुँदै छ,’ उनले भने, ‘तर, सेवा हेर्दा स्वास्थ्य चौकीको जस्तो छ । बिरामी भर्ना गरेर राख्न सक्ने गरी बनाउनुपर्छ ।’

अस्पताल स्थापना भएको चार वर्षमा पनि प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्भे (ओएन्डएम) गरेर स्थायी दरबन्दी सिर्जना गर्न सकेको छैन । हाल २३ जनाको अस्थायी दरबन्दी मात्रै रहेको प्रादेशिक आयुर्वेद अस्पतालका निर्देशक डा. निरौलाले बताए । दरबन्दीअनुसार २३ जना पनि पूरा कर्मचारी नभएको उनले बताए । अस्पतालमा हाल आफूसहित चारजना मात्रै चिकित्सक रहेको उनको भनाइ छ । 

५० शय्याको अस्पतालका लागि विशेषज्ञ चिकित्सकसहित १०८ जनाको स्थायी दरबन्दी आवश्यक पर्ने उनी बताउँछन् । कर्मचारी अभावमा पूर्ण रूपमा २४ सै घण्टा अस्पताल सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । अहिले अस्पतालले ओपिडी सेवासहित, पञ्चकर्म, थेरापी, प्रयोगशाला, जीवनशैलीसम्बन्धी परामर्शलगायतको सेवा दिइरहेको उनले बताए । ‘२४ घण्टा सञ्चालन गर्न सकेको छैन । इमर्जेन्सी सेवा सञ्चालन गर्न सकेको छैन । कहिलेकाहीँ भर्ना गर्छौँ । शल्यक्रिया गर्नुपर्ने १०–१५ जना बिरामी भएपछि बाहिरबाट चिकित्सक बोलाएर गर्छौँ,’ उनले भने, ‘स्थापना भएको कम समय भएको छ । बिस्तारै सेवा विस्तार गर्दै जाने हो । पूर्ण रूपमा सञ्चालन गर्न जनशक्ति अभाव हो । प्रदेशको एक मात्र प्रादेशिक आयुर्वेद अस्पताल हो । यो प्रदेशको गौरव पनि हो । यसलाई रिफरल सेन्टर बनाउने प्रदेश सरकारको योजना हो ।’ 

कोशी प्रदेश सरकारले यो अस्पतालका लागि चालू आर्थिक वर्षमा तीन करोड ४२ लाख बजेट विनियोजन गरेको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थीले २३ जना कर्मचारीको दरबन्दी भए पनि विशेषज्ञ चिकित्सकको पदपूर्ति हुन बाँकी रहेको बताइन् । अस्पतालको स्थायी दरबन्दीका लागि संगठन तथा व्यवस्थापन सर्भे (ओएन्डएम) हुने क्रममा रहेको उनको भनाइ छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरलाई विशेषज्ञ प्रेषण अस्पताल र तालिम केन्द्रका रूपमा विकास गर्दै आयुर्वेद प्रतिष्ठानसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयन तथा जडीबुटीजन्य औषधिको प्रवर्द्धन गर्ने प्रदेश सरकारको योजना रहेको उनले बताइन् ।

See More On

सुझावित समाचार