खाना पकाउने एलपी ग्यास अभाव भएपछि उदयपुरका बजार क्षेत्रमा दाउराको माग बढेको छ । नियमित रूपमा ग्यास प्रयोग गर्दै आएका परिवारसमेत सिलिन्डर नपाएपछि वैकल्पिक इन्धनका रूपमा दाउरा खोज्न थालेका छन् । तर, ग्यास अभावले अहिले बजारमा देखिएको दाउराको मागले उदयपुर पुरानै अवस्थामा फर्किएको छ । जिल्लाका झन्डै ७० प्रतिशत परिवार अझै खाना पकाउन दाउरामै निर्भर थिए, ग्यास अभाव यो संख्या झनै बढ्ने देखिन्छ ।
राष्ट्रिय जनगणना, २०७८ अनुसार उदयपुरका ८१ हजार ५१ परिवारमध्ये ५६ हजार ५६५ परिवारले खाना पकाउन दाउरा प्रयोग गर्छन् । यो कुल परिवारको ६९.७९ प्रतिशत हो । एलपी ग्यास प्रयोग गर्ने परिवार २३ हजार १६४ अर्थात् २८.५५ प्रतिशत छन् । दाउरा र ग्यास दुवैमा निर्भर परिवार जोड्दा जिल्लाको ९८ प्रतिशतभन्दा बढी परिवार यी दुई प्रमुख इन्धनको भरमा रहेको देखिन्छ ।
अहिले ग्यासको आपूर्ति रोकिँदा त्यसको तत्काल असर बजार क्षेत्रमा परेको छ । गाईघाटलगायतका बजारमा ग्यास नपाएपछि उपभोक्ता दाउरा खोज्न थालेका छन् । त्रियुगा नगरपालिका– ११, गाईघाटकी मुना दाहालले एक सातादेखि ग्यास नपाएपछि दाउरा प्रयोग गर्न थालेकी छिन् । ‘आधा ल्याएको ग्यास सकियो । अहिले नपाएको एक हप्ता भयो,’ उनले भनिन् ।
ग्यास अभावका कारण आपूर्ति अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईका अनुसार बजार अनुगमन भइरहे पनि ग्यास लुकाएर राखेको अवस्था भेटिएको छैन । ‘उदयपुरको गाईघाट, कटारीलगायत बजारमा ग्यास पाउन मुस्किल छ । व्यापारीले ग्यास ल्याउन नपाएकै कारण अभाव देखिएको हो,’ उनले भने ।
ग्यासको विकल्प खोज्नुपर्ने अवस्था बजारमा अहिले मात्र आएको हो । ग्रामीण उदयपुरमा भने दाउरा अझै खाना पकाउने प्रमुख इन्धन हो । वन तथा स्थानीय स्रोतबाट दाउरा सहजै उपलब्ध हुने भएकाले ग्रामीण परिवारको ठुलो हिस्सा परम्परागत इन्धनमै निर्भर छ ।
आधुनिक ऊर्जाको पहुँच विस्तार भइरहे पनि खाना पकाउने इन्धनमा त्यसको प्रभाव कमजोर देखिन्छ । जनगणनाअनुसार जिल्लामा बिजुलीबाट खाना पकाउने परिवार ७५५ मात्र छन् । जुन बिजुलीबाट खाना पकाउने संस्कारको विकास नभएको शिक्षक पदम राई बताउँछन् । उनले भने, ‘गाउँघरमा सहजै विद्युतीय चुलो प्रयोग गर्न सकिन्छ । चेतनाको कारण उपभोक्ताहरू डराउँछन् । विजुलीबाट खाना पकाउँदा धुँवाबाट मान्छे जोगिन्छन् । तर, करेन्ट लाग्ने अनि भ्याट लाग्ने भन्दै दाउरा प्रयोग भइरहेको देखेको छु ।’
बायोग्यास प्रयोग गर्ने परिवारको संख्या ४६८ मात्रै छ । गुइँठा प्रयोग गर्ने २१, मट्टीतेल प्रयोग गर्ने ४८ र अन्य स्रोत प्रयोग गर्ने परिवार ३० छन् । यसले उदयपुरमा खाना पकाउने ऊर्जाको विकल्प अझै सीमित रहेको देखाउँछ । ग्यास आपूर्ति नियमित हुँदा बजारले त्यसलाई आधुनिक विकल्प माने पनि संकट पर्दा ठुलो हिस्सा फेरि दाउरामै फर्किनुपर्ने अवस्था छ ।