प्राकृतिक स्रोतको प्रचुर सम्भावना भए पनि नेपालले त्यसको लाभ लिन नसकेको भन्दै संघीय संसद्को अर्थ समितिमा प्राकृतिक स्रोतको उपयोग, खानी उद्योगको विकास र लगानी वातावरणबारे सांसद लिमा अधिकारीले प्रश्न उठाएकी छिन्।
अर्थ समितिमा सांसद अधिकारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा नेपालमा प्राकृतिक स्रोतको अभाव नभए पनि त्यसको उपयोगमा नीतिगत जटिलता, लामो अनुमति प्रक्रिया, विभिन्न निकायको स्वीकृति र पूर्वाधार अभाव मुख्य बाधक बनेको औँल्याइन्। ‘हामी प्राकृतिक स्रोतमा धनी छौँ, तर खानीमा किन गरिब ? कतै हाम्रो नीतिगत जटलता नै प्रमुख कारण होइनन् ? यो विषयमा छलफल गरेर निचोड निकाल्नु जरुरी छ,’ उनले बैठकमा भनिन्।
उनले कुनै पनि मुलुकको विकासमा प्राकृतिक स्रोतको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै विश्वका अधिकांश विकसित मुलुकले आफ्ना प्राकृतिक स्रोतको प्रभावकारी उपयोगबाट आर्थिक विकास गरेको बताइन्।
अधिकारीका अनुसार खाडी मुलुक सफल हुनुको कारण तेल भएर मात्र होइन, त्यसबाट प्राप्त आम्दानीलाई छुट्टै पारदर्शी कोषमा राखेर पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा व्यवस्थित रूपमा पुनः लगानी गर्ने संस्थागत अनुशासन पनि हो। नेपालको अवस्था भने स्रोतको अभावभन्दा पनि त्यसको उपयोग गर्न नसक्ने नीतिगत र संस्थागत संरचनासँग जोडिएको अधिकारीले बताइन्।
नेपालमा वन क्षेत्रले कुल भूभागको ४६ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको, ६० भन्दा बढी प्रकारका खनिज रहेको र खनिज स्रोत भएका एक हजारभन्दा बढी स्थान पहिचान भइसके पनि खानी क्षेत्रको कुल अर्थतन्त्रमा योगदान ०.५ प्रतिशतभन्दा माथि उठ्न नसकेको उनको भनाइ छ।