लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक बेपत्ता

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

रौतहटको देवाही गोनाही नगरपालिका– १, करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छिन्। साउन २६ गते खोलामा नुहाउने क्रममा करुनिया निवासी करमे आलमका करिब १० वर्षीय छोरा महमद रमतुल्लाह, हिसी अकतरकी करिब १० वर्षीया छोरी सवनम खातुन र शेख खुर्सेदकी करिब १० वर्षीया छोरी रौशन खातुन पानीमा डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमान्डमा सातजना प्रहरी, सशस्त्र प्रहरी बल बेस देवाही गोनाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमान्डमा पाँचजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको कमान्डमा रबरबोटसहितको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो।

खोजीका क्रममा साउन २७ गते बिहान करिब ७:३० बजे महमद रमतुल्लाहको शव घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका– २, जिंगडवास्थित लालबकैया खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। सोही स्थानमा घटनास्थलबाट करिब ५.२ किलोमिटर दक्षिणतर्फ सवनम खातुनको शव पनि फेला परेको थियो। दुवै शव करिब दुई सय मिटरको दूरीमा भेटिएका हुन्।

बेपत्ता रौशन खातुनको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ। खोलामा बालबालिका डुबेर मृत्यु भएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले खोलामा नुहाउँदा तथा पौडी खेल्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

सुझावित समाचार