नेपालगन्ज नाकाबाट भित्रियो ३० अर्बको पेट्रोलियम

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

नेपालगन्ज नाकाबाट मात्र एक वर्षमा झन्डै ३० अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । गत आर्थिक वर्ष ०८२/८३ मा नेपालगन्ज नाकाबाट १९ अर्ब ३३ करोड ९० लाख ७९ हजारबराबरको एक लाख ४७ हजार सात सय ८० किलोलिटर डिजेल आयात भएको छ । आयात भएका प्रमुख १० वस्तुमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए ।

एक वर्षमा ६ अर्ब २४ करोड ८९ लाख ६३ हजारको पेट्रोल र पाँच अर्ब ३१ करोड ११ लाख ७८ हजारको खाना पकाउने एलपी ग्यास आयात भएको उनले बताए । ‘पेट्रोलियम पदार्थ आयातबाट १० अर्ब ३७ करोड २२ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ,’ उनले भने ।

गत आवमा चार अर्ब ९९ करोड ४८ लाख ६४ हजार मूल्यबराबरको पाँच करोड ७८ लाख ५३ लाख एक सय २५ किलोग्राम चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । चामल आयातबाट ४५ करोड ३० लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । आर्थिक वर्ष ०८१/८२ मा पाँच अर्ब ९२ करोड २४ लाख ३३ हजार मूल्यबराबरको ६ करोड ७६ लाख ८३ हजार ५८ किलोग्राम चामल आयात भएको थियो । ‘आव ०८१/८२ भन्दा गत आवमा ३३ दशमलव ९२ प्रतिशत कम राजस्व संकलन भएको छ,’ पौडेलले भने ।

गत आवमा एक अर्ब २५ करोड १२ लाख ९७ हजार मूल्य पर्ने तोरी, रायो, सर्स्यौं र तिल आयात भएको छ । त्यस्तै, ९९ करोड ६६ लाख ५१ हजार रुपैयाँको एक करोड ५० लाख ५५ हजार ६ सय ७६ किलो चिनी आयात भएको पौडेलले जानकारी दिए ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आवमा एक अर्ब ८३ करोड ७२ लाख ७० हजार मूल्य पर्ने स्टिल वायर रड इन क्वायल तीन अर्ब ७८ करोड ३६ लाख २९ हजार रुपैयाँ मूल्यबराबरको शुद्ध फलाम आयात भएको छ । तयारी कपडा आयातबाट २४ करोड १० लाख तीन हजार रुपैयाँ राजस्व संकलन भएको बताउँदै उनले ७४ करोड १७ लाख २८ हजार मूल्य पर्ने तयारी कपडा आयात भएको बताए । 

सुझावित समाचार