पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका– १, प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार सर्राफ र विन्दवासिनी गाउँपालिका– १, झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।
उनीहरूलाई सोमबार साँझ ६:३० बजे वीरगन्ज आदर्शनगरबाट मोटरसाइकलमा सवार रहेको अवस्थामा स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट एक लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ ।
बरामद रकममध्ये एक हजार दरका चार हजार पाँच थान नोटबाट ४० लाख पाँच हजार रुपैयाँ, पाँच सय दरका दुई हजार ३५३ थान नोटबाट ११ लाख ७६ हजार पाँच सय रुपैयाँ, एक सय दरका ६४३ थान नोटबाट ६४ हजार तीन सय रुपैयाँ र ५० दरका ८४ थान नोटबाट चार हजार दुई सय रुपैयाँ रहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । बरामद नगदसहित चारैजनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।