लिटल फ्लावर प्राइड लिग (टी–२० क्रिकेट प्रतियोगिता) को १०औँ संस्करण आगामी १५ असोजदेखि आयोजना हुने भएको छ । आयोजक संस्था लिटल फ्लावर स्पोर्टस् एन्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २४ असोजसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगितामा कुल १२ टोलीको सहभागिता रहनेछ । विजेता टोलीले दुई लाख र उपविजेता टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
०७२ देखि निरन्तर रूपमा ग्रासरुट क्रिकेटको विकासमा विशेष भूमिका खेल्दै आएको लिटल फ्लावर प्राइड लिग देशकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको आयोजकको दाबी छ । प्रतियोगिताले सुदूरपश्चिमको क्रिकेटको जग बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्लले पत्रकार सम्मेलनमा बताए ।
आफ्नो पहिलो आधिकारिक प्रतियोगिता नै लिटल फ्लावर प्राइड लिग भएको स्मरण गर्दै उनले प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाए । ‘अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिरहेका सुदूरपश्चिमका थुप्रै खेलाडीको जग नै एलपिएल हो,’ उनले भने ।