नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला तीन लाख रुपैयाँमाथि पुगेको छ । आइतबार सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले बढेर तीन लाख एक हजार सात सय रुपैयाँ पुगेको हो । शुक्रबार सुनको मूल्य दुई लाख ९६ हजार नौ सय रुपैयाँ थियो ।
यसअघि माघ १५ मा सुनको मूल्य तोलामा तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर दुई लाख ७५ हजारसम्म झरेको सुनको मूल्य फेरि बढ्दो क्रममा छ । त्यस क्रममा आइतबार त्यो तीन लाखमाथि पुगेको हो । यस्तै, चाँदीकोे मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर चार हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिकी रोजगार तथ्यांकले अपेक्षा गरेभन्दा कमजोर आएपछि सुनको मूल्य बढ्न गएको हो । जुलाईमा अमेरिकाले झन्डै २३ हजार रोजगारी गुमाएको छ । यसले आर्थिक वृद्धि प्रभावित बनाउनेसँगै अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अपेक्षा गरिएको छ । त्यसपछि डलर कमजोर हुन गई सुनतर्फ लगानीको आकर्षण बढेको छ । त्यसले विश्व बजारमा सुनको मूल्य बढ्न गई नेपालमा पनि बढ्न गएको हो ।
नेपालमा शनिबारबाहेक साताको ६ दिन सुनचाँदीको मूल्य निर्धारण गरिन्छ । नेपालमा यसको अधिकार नेपाल सुनचाँदी व्यवसायी महासंघलाई छ । अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा महासंघले नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।