‘मानसिक समस्याकाे कारण व्यक्तिगत मात्र होइन, बहुआयामिक’

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

आत्मदाह र आत्महत्याका घटनालाई केवल व्यक्तिगत कमजोरी वा क्षणिक निर्णयका रूपमा नहेरी यसका सामाजिक, आर्थिक, कानुनी र संरचनागत कारणहरूको पहिचान गरी समाधानतर्फ लाग्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

कोटेश्वरमा विद्यासागर फाउन्डेसनद्वारा आयोजित ‘खुल्ला बहस’को तेस्रो शृंखलामा मानसिक स्वास्थ्य विज्ञ, कानुनी परामर्शदाता, युवा अभियन्ता तथा विद्यार्थी प्रतिनिधिहरूले संवेदनशील विषयमा मौनता तोडेर राज्य र समाजले संयुक्त कदम चाल्नुपर्ने धारणा राखे।

कार्यक्रममा मनोविज्ञानका पिएचडी स्कलर वासुदेव आचार्यले मानसिक समस्या व्यक्तिगत कमजोरी मात्र नभई जैविक, मनोवैज्ञानिक र सामाजिक कारणको अन्तरसम्बन्धबाट उत्पन्न हुने स्वास्थ्य अवस्था भएको स्पष्ट पारे। उनले मानसिक रोगका प्रकार, कारण, लक्षण र यसले पार्ने प्रभावबारे जानकारी गराउँदै समयमै पहिचान, उचित परामर्श, उपचार र पारिवारिक–सामाजिक सहयोग पाए गम्भीर अवस्थाबाट जोगिन सकिने बताए।

यसैगरी, मनोवैज्ञानिक काउन्सलर विदुषी सिद्धिश्रीले निराशा, सामाजिक दबाब, अन्यायको अनुभूति र राज्यप्रतिको अविश्वासले व्यक्तिको मानसिक अवस्थामा पार्ने प्रभावबारे प्रकाश पारिन्। उनले आत्मदाहलाई केवल व्यक्तिगत समस्या नभई यससँग जोडिएका सामाजिक, आर्थिक, राजनीतिक र संरचनागत कारणहरूलाई गम्भीरतापूर्वक बुझ्नुपर्ने आवश्यकता औँल्याइन्।

अधिवक्ता क्षितिज पराजुलीले आत्मदाहको विषयलाई केवल व्यक्तिगत वा मानसिक स्वास्थ्यको प्रश्नमा सीमित नराखी यसको सामाजिक, राजनीतिक तथा कानुनी आयामबाट हेर्नुपर्ने उल्लेख गर्दै मानसिक स्वास्थ्यसम्बन्धी कानुनी अवधारणा तथा दृष्टिकोणहरूलाई बहसमा प्रस्तुत गरे।

यसैगरी युवा अभियन्ता श्वेता घिमिरेले आत्मदाहलाई केवल व्यक्तिको मानसिक अवस्था वा अन्तिम निर्णयका रूपमा बुझेर समाधान खोज्न नसकिने धारणा राखिन्। मानिसको मानसिक अवस्था उसको व्यक्तिगत अनुभवसँगै परिवार, आर्थिक अवस्था, सामाजिक सम्बन्ध, शिक्षा, रोजगारी, भेदभाव, सामाजिक अपेक्षा र डिजिटल वातावरणबाट पनि प्रभावित हुने बताइन्। 

त्यसैगरी, फरक क्षमता भएकी अधिवक्ता रोशनी अधिकारीले आफ्नो समूहको नेतृत्व गर्दै आफू अरूमाथि बोझ बनेको अनुभूति र त्यसबाट उत्पन्न पीडाका साथै, सामाजिक सञ्जालमा हुने नकारात्मक टिप्पणी र घृणात्मक अभिव्यक्तिले पनि व्यक्तिको मानसिक पीडा थप गहिरो बनाउने गरेको यथार्थ उजागर गरिन्।

अधिवक्ता सन्ध्या घिमिरेले मुगुका गणेश नेपाली, सर्लाहीका विवेक मण्डल र बुद्धनगरका अश्विनीकुमार राउतको मनोसामाजिक अवस्थालाई केलाउँदै राज्यसम्म आफ्नो आवाज पुर्याउने विकल्प नदेखेपछि व्यक्तिले आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुनसक्ने औंल्याइन्। आत्मदाहको प्रयासपछि मात्र राष्ट्रिय ध्यानाकर्षण हुने तथा परिवारले क्षतिपूर्ति र राहत पाउने, बालबालिकाको शिक्षा र रोजगारीको सुनिश्चितता हुने अवस्था सिर्जना हुनुले पनि आत्मदाहलाई ‘अन्तिम विकल्प’ ठान्ने मनोवृत्तिलाई अन्जानेमै प्रोत्साहन गर्नसक्ने बताइन्।

सुझावित समाचार