खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी र अनुगमन सुरु गरिएको हो ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री भइरहेको गुनासो उद्योग मन्त्रालयमा लगातार आउन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको हो ।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको हो ।
उद्योगमन्त्री गौरी यादवले ग्यासको आपूर्ति सहज हुँदाहुँदै उपभोक्ताले अभाव र बढी मूल्यको समस्या भोग्नुपरेको विषयमा चासो लिएपछि गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन् ।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए । त्यसपछि उपत्यकाका विभिन्न डिपोमा सादा पोसाकका प्रहरी खटाएर वास्तविक अवस्था बुझ्ने तथा कालोबजारी नियन्त्रण गर्ने काम सुरु भएको हो ।
अनुगमनका क्रममा ग्यास लुकाएको, कृत्रिम अभाव सिर्जना गरेको वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइए तत्काल कारबाही गरिने बताइएको छ ।
सरकारले उपत्यकामा गरिएको अनुगमनबाट प्राप्त सूचना र तथ्यका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाउने तयारी गरेको छ ।
गृह मन्त्रालयले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने तथा बढी मूल्य असुल्ने गतिविधि स्वीकार्य नहुने जनाएको छ ।
सरकारले ग्यासको आपूर्ति, भण्डारण तथा बिक्री–वितरणको अवस्थासमेत निगरानीमा राख्दै कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई थप कडाइ गर्ने तयारी गरेको छ ।