सुधार केन्द्रमा भर्ना गरिएका एक पुरुषको मृत्यु

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

धनुषाको धारापानीस्थित शुभेच्छा फाउन्डेसन तथा सुधार केन्द्रमा भर्ना गरिएका गणेशमान चारनाथ नगरपालिका– ४ का ४० वर्षीय मोजिबुल राइनको मृत्यु भएको छ।

परिवारका अनुसार मादक पदार्थ सेवनको लत लागेपछि उनलाई गत बुधबार सुधार केन्द्रमा राखिएको थियो। शनिबार साँझ उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएपछि चिकित्सकले उनलाइ मृत घोषणा गरेका थिए।

मृतककी आमा बतुला खातुनले सुधार केन्द्रले परिवारलाई कुनै जानकारी नगराएको आरोप लगाएकी छिन्। राति छिमेकीमार्फत अस्पतालमा शव रहेको जानकारी पाएपछि मात्रै घटनाबारे थाहा भएको उनले बताइन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मधुसूदन न्यौपानेका अनुसार राइनको शरीरमा नीलडाम र चोटपटकका संकेत देखिएकाले कुटपिट भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। तर, मृत्युको वास्तविक कारण हालसम्म यकिन भएको छैन।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण स्पष्ट हुने बताइएको छ। प्रहरीले घटनाको अनुसन्धानका लागि सुधार केन्द्रका सञ्चालकसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सुझावित समाचार