- २८ करोड ९९ लाखमा ठेक्का सम्झौता भएको पुल निर्माणमा १४ करोड ४५ लाख खर्च हुँदा करिब ५० प्रतिशत मात्र प्रगति, गत आव ०८२/८३ मा ८ करोड र चालू आवमा ९.२० करोड बजेट विनियोजन भए पनि समयमै काम सकिनेमा आशंका
- आयोजनाका सूचना अधिकारी वीरेन्द्रप्रसाद महतो भन्छन्– ठेक्काको म्याद १९ जेठ ०८४ सम्म थपिएको छ । तर, अहिले विनियोजित बजेटले सबै पुल यसै वर्ष सम्पन्न हुने सम्भावना छैन ।
आयोजनाका सूचना अधिकारी वीरेन्द्रप्रसाद महतो भन्छन्– ठेक्काको म्याद १९ जेठ ०८४ सम्म थपिएको छ । तर, अहिले विनियोजित बजेटले सबै पुल यसै वर्ष सम्पन्न हुने सम्भावना छैन ।
बजेट अभावका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत मिर्चैया–कटारी सडकखण्डमा निर्माणाधीन चारवटा पक्की पुल निर्धारित समयमै सम्पन्न नहुने भएका छन् । ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्गअन्तर्गतको मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कटारी नगरपालिका २ र ३ का गिद्धवर खोला, कल्याणपुर खोला, ताराघारी खोला र खोक्सा खोलामा निर्माणाधीन चारवटा पुल अझै सम्पन्न हुन सकेका छैनन् ।
आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद महतोका अनुसार चारवटै पुल निर्माणको ठेक्का धरानस्थित सूर्य एन्ड सन्स प्रालिले २९ असार ०७९ मा पाएको थियो । कम्पनीले २९ असोज ०८२ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि लक्ष्यअनुसार काम सकिएको छैन ।
महतोका अनुसार गत आर्थिक वर्षसम्म पुल निर्माणमा १४ करोड ४५ लाख ५७ हजार चार सय २१ रुपैयाँ खर्च भइसकेको छ । चालू आवका लागि भने नौ करोड २० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ ।
