- साबिक विजेता आर्सनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्ध खेलेसँगै प्रिमियर लिगको नयाँ सिजन सुरु हुनेछ
इंग्लिस प्रिमियर लिग २०२६/२७ को नयाँ सिजन २१ अगस्टबाट सुरु हुँदै छ । त्यसका लागि क्लबहरू प्रि–सिजन र अभ्यास खेलमा व्यस्त छन् । तर, प्रतियोगिता सुरु नहुँदै प्रिमियर लिगमा नयाँ कीर्तिमान बनिसकेको छ । नौ नयाँ प्रशिक्षकले यसपटक युरोपकै चर्चित र सर्वाधिक सफल लिगमा डेब्यु गर्दै छन् । प्रिमियर लिग इतिहासमा सिजनको सुरुवातमै सबैभन्दा धेरै क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको पहिलोपटक हो ।
साबिक विजेता आर्सनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटीविरुद्धको खेलसँगै लिगको नयाँ सिजन सुरु हुनेछ । यसपटक म्यानचेस्टर सिटीले एन्जो मारेस्का, लिभरपुलले एन्डोनी इराओला, बर्नामाउथले मार्को रोज, चेल्सीले जाभी ओलोन्सो, क्रिस्टल प्यालेसले पिएर सागे, फुलहमले अल्भारो अल्बेलोआ, इप्स्विच टाउनले ग्यारी ओनेइल, न्युक्यासलले म्याथिस जाइस्ली र नटिंघम फोरेस्टले ओलिभर ग्लास्नेरलाई अनुबन्ध गरेका छन् ।
यसपटक नयाँ र पुराना प्रशिक्षकबिच रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ । जसकारण प्रिमियर लिगको नयाँ सिजनमा केही फरक अनुभव पाइनेछ । तर, चर्चित प्रशिक्षक कम हुँदा केही खल्लोपना पनि पक्कै हुनेछ । नयाँ सिजनका ‘हाई भोल्टेज’ प्रशिक्षक यस्ता रहेका छन्:
माइकल अर्टेटा (आर्सनल)
अर्टेटा अहिले प्रिमियर लिगका सबैभन्दा पुराना प्रशिक्षक हुन् । डिसेम्बर २०१९ मा आर्सनलको जिम्मेवारी सम्हालेका उनले सात वर्ष बिताइसकेका छन् । सात वर्ष टिममा रहँदा उनले पछिल्लो सिजन टिमलाई च्याम्पियन बनाए । आर्सनलले २२ वर्षपछि प्रिमियर लिग उपाधि उचाल्यो । च्याम्पियन्स लिगको फाइनलमा टिम चुकेको थियो । पछिल्लो सिजन उनी वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । अर्टेटाले आफ्नो कार्यकालमा तीनपटक दोस्रो भएपछि उपाधि जितेका थिए । उनले एभर्टन र आर्सनलबाट खेलेपछि सन् २०१६ मा सन्न्यास लिएका थिए । त्यसपछि पेप ग्वार्डिओलाको सहायक बन्दै करिब चार वर्ष म्यानचेस्टर सिटीमा काम गरेका छन् । अब, अर्टेटा उपाधि रक्षा गर्ने अभियानमा सामेल हुनेछन् ।
एन्डोनी इराओला (लिभरपुल)
आर्ने स्लटको बर्खास्तीपछि लिभरपुलले स्पेनिस प्रशिक्षक एन्डोनी इराओलालाई नियुक्त गरेको छ । इराओलाको पहिलो ६ वटै प्रिमियर लिग खेल नयाँ स्थायी प्रशिक्षक भएका टोलीविरुद्ध हुनेछ ।
न्युक्यासलपछि फरेस्ट, इप्सविच, फुलहम, बर्नमाउथ र सिटीसँग उसले खेल्नेछ । एन्डोनी बर्नामाउथबाट लिभरपुल पुगेका हुन् । उनले खेलाडीका रूपमा एथलेटिको बिल्बाओबाट पाँच सयभन्दा बढी खेल खेलेका थिए । दुईपटक कोपा डेल रे फाइनल, एकपटक युरोपा लिग फाइनल खेले ।
युरोपबाट उनी न्युयोर्क सिटी एफसीमा अनुबन्ध भएका हुन् । त्यसपछि मात्रै बर्नामाउथसँग अनुबन्ध भएका थिए । सन् २०२० मा उनले ला लिगा क्लब रायो भालेकानोमा पहिलोपटक प्रशिक्षकका रूपमा काम गरे । त्यसपछि २०२३ मा बर्नामाउथसँग जोडिएका हुन् । अब भने इराओलाले ठुलै चुनौती स्वीकार गरेका छन् । टिमलाई उपाधि जिताउनैपर्ने दबाबमा उनी हुनेछन् ।
एन्जो मारेस्का (म्यानचेस्टर सिटी)
सफल कार्यकालपछि पेप ग्वार्डिओलाले यस सिजनबाट म्यानचेस्टर सिटीमा नरहने निर्णय गरेका थिए । दशकभन्दा बढी क्लबमा रहेका ग्वार्डिओलाको विरासत धान्ने जिम्मेवारी एन्जो मारेस्काले पाएका छन् । अब, मारेस्कालाई प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि पुनः जिताउने दबाब र अवसर दुवै हुनेछ । मारेस्कासँग यसअघि नै सिटीसँग काम गरेको अनुभव पनि छ ।
आफ्नो करिअरमा एसी मिलान, युभेन्ट्स, सेभियाजस्ता क्लबबाट खेलेपछि उनले सिटीको इलाइट डेभलपमेन्टमा काम गरेका थिए । इटालियन क्लब पार्माको प्रशिक्षक भएपछि उनी सन् २०२२ देखि सिटीसँग जोडिएका हुन् । ग्वार्डिओला सफल हुनुमा मारेस्काको पनि उत्तिकै योगदान रहेको छ । सन् २०२४ मा उनी फेरि चेल्सीको मुख्य प्रशिक्षक भएका थिए । चेल्सीलाई उनले कन्फरेन्स लिग, फिफा क्लब विश्वकप जिताए । च्याम्पियन्स लिगमा छनोट गराएर बिचमै चेल्सी छाडेका थिए ।
जाभी ओलोन्सो (चेल्सी)
चेल्सीले लियाम रोजेनियरको असफल कार्यकालपछि जाभी ओलोन्सोलाई भिœयाएको हो । उनले जुलाई २०२६ बाट जिम्मेवारी पाएका हुन् । जाभीले खेलाडीका रूपमा प्रिमियर लिगको अनुभव बटुलिसकेका छन् । पाँच वर्ष लिभलपुरबाट खेल्दा च्याम्पियन्स लिग र एफए कप उपाधि उचाले । त्यसपछि उनले रियल मड्रिडबाट ला लिगा तथा बायर्न म्युनिखबाट बुन्डेस लिगा उपाधि जिते । रियलबाट भने दुईपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।
स्पेनका लागि सन् २००८ देखि २०१२ सम्म फिफा विश्वकप एकपटक र दुईपटक युरोकप उपाधि नै जिते । खेलाडीका रूपमा सफल भएपछि उनले रियलकै यू–१४ टिम हुँदै प्रशिक्षकको जिम्मेवारी सम्हाल्न सुरु गरेका हुन् । उनले बायर्न लेभरकुसेनलाई अपराजित राख्दै पहिलोपटक सन् २०२३/२४ को बुन्डेस लिगा उपाधि जिताएका थिए । त्यसपछि उनलाई रियलले नै प्रशिक्षक बनायो । तर, लगातार खराब प्रदर्शनपछि उनी आठ महिनामा नै क्लब छाड्न बाध्य भए ।
माइकल क्यारिक (म्यानचेस्टर युनाइटेड)
इंग्ल्यान्डका पूर्वखेलाडी माइकल क्यारिक १३ जनवरी २०२६ बाट म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका छन् । आफ्नो जेनेरेसनमा उनी विश्वकै सफल मिडफिल्डर हुन् । उनले वेस्टहमबाट टोटनहम हुँदै युनाइटेडबाट खेले ।
१२ सिजनमा चार सय ६४ खेल खेले । चारपटक प्रिमियर लिग, एकपटक च्याम्पियन्स लिग र एफए कपलगायत थुप्रै उपाधि नै जिताएका छन् । सन् २०१८ मा सन्न्यास लिएपछि उनले जोसे माउरिन्हो र ओली गुनरसँग काम गरे । सन् २०२१ देखि अन्तरिम कोच भएर काम गरेका हुन् । प्रशिक्षकका रूपमा पहिलो जिम्मेवारी मिडलस्ब्रगमा निभाए । टिमलाई इएफएलको सेमिफाइनलमा पुर्याउन सफल भए । सन् २०२५ मा त्यहाँबाट निस्किएर र रुबेन अमोरिमले युनाइटेड छाडेपछि मुख्य प्रशिक्षक नियुक्त भएका छन् । पछिल्लो सिजन उनले युनाइटेडलाई तेस्रो बनाए । अब, स्थायी प्रशिक्षक भएपछि युनाइेटडलाई प्रिमियर लिगसँगै च्याम्पियन्स लिग उपाधि जिताउने दबाब र अवसर दुवै ४५ वर्षीय उनीमाथि रहेको छ ।