हर्मोनसम्बन्धी गम्भीर रोगबाट पीडित दोलखाको कालिन्चोक गाउँपालिका–२ कुशावतीका ८ वर्षीय सुमन थामीको उपचारका लागि शैलुङ नेपालले आर्थिक सहयोग गरेको छ।
शैलुङ नेपालका अध्यक्ष गोविन्द रिमालले महाराजगन्जस्थित कान्ति बाल अस्पताल पुगेर सुमनको उपचारका लागि २ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका हुन्। थामीको हाल कान्ति बाल अस्पतालमै उपचार भइरहेको छ।
सुमनका बुबा दुर्गामान थामीका अनुसार छोराको औषधि र इन्जेक्सनमा मात्रै प्रत्येक महिना कम्तीमा १५ हजारदेखि २० हजार रुपैयाँ खर्च हुने गरेको छ। प्रत्येक तीन–तीन महिनामा हर्मोन परीक्षण गर्नुपर्ने र त्यसका लागि थप कम्तीमा ५० हजार रुपैयाँ खर्च हुने उनले बताए।
एक वर्षयता सुमनको उपचारमा मात्रै २२ लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको दुर्गामानले बताए।
उनले भने, ‘छोराको हर्मोनमा जन्मेदेखि नै समस्या देखियो। प्रत्येक महिना १५ देखि २० हजार रुपैयाँ औषधिमा मात्रै खर्च हुन्छ। प्रत्येक तीन–तीन महिनामा हर्मोनको परीक्षण गर्नुपर्छ। त्यसमा कम्तीमा ५० हजार रुपैयाँ खर्च हुन्छ। अहिले बाबुको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। हालसम्म २२ लाख रुपैयाँ सकियो। एक हप्ता मात्रै औषधि छुट्यो भने बच्चाको मृत्यु हुन सक्ने डाक्टरले बताएका छन्।’
छोराको उपचारका लागि दुर्गामान अहिले काठमाडौंको न्युरोडमा बस्दै आएका छन्। दैनिक ज्याला मजदुरी गर्ने उनको आर्थिक अवस्था कमजोर छ। उपचारका लागि पटक–पटक दोलखा र काठमाडौं गर्नुपर्ने भएकाले खर्च बढेपछि न्युरोडमा डेरा लिएर बस्नुपरेको उनले बताए।
उनले भने, ‘छोरालाई अस्पताल लगिरहनुपर्छ। दोलखा–काठमाडौं गर्दा झन् धेरै खर्च लाग्ने भयो। त्यसैले न्युरोडमा सानो कोठा भाडामा लिएको छु। म न्युरोडमै ज्याला मजदुरी गर्छु। भएको सम्पत्ति छोराको उपचारमै सकिएको छ। बाँकी उपचार कसरी गर्ने हो, ठेगान छैन।’
दुर्गामानको आर्थिक अवस्था देखेपछि थोरै भए पनि सहयोग गरेको शैलुङ नेपालका अध्यक्ष रिमालले बताए। उनले सुमनको उपचारमा अन्य संघसंस्थालाई पनि सहयोगका लागि सहभागी हुन आग्रह गरेका छन्।