पहिलो काठमाडौं खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपको उपाधिका लागि आज रोहित क्षेत्री र सबिन तामाङबिच प्रतिस्पर्धा हुँदै छ । दुईबिचको विजेताले एक लाख ११ हजार एक सय ११ तथा उपविजेताले ५१ हजार रुपैयाँ पाउनेछन् ।
फाइनलअघि दुवै खेलाडीले उच्च मनोबलमा रहेको बताउँदै उपाधि जित्न खेल्ने दाबी गरेका छन् । सबिनले सेमिफाइनलमा नेपालका नम्बर एक वाङचु तामाङलाई ५–४ ले हराएका थिए । सबिनले यो खेलबाट बदलासमेत लिएका थिए । यसअघि यी दुवै खेलाडी एउटै समूहमा परेका थिए । समूह चरणमा वाङचुसँग सबिन सजिलै ४–१ सेटको सेटमा पराजित भएका थिए । सबिन भन्छन्, ‘वाङचुलाई पहिलोपटक हराएपछि अहिले मेरो मनोबल उच्च छ । सोही उच्च मनोबलका साथ फाइनल खेल्नेछु ।’
सबिनले फाइनलमा आफ्नो प्रतिस्पर्धी रोहितसँग अहिलेसम्म पराजय व्यहोर्नुपरेको छैन । अहिलेसम्म यी दुई खेलाडीबिच दुईपटक प्रतिस्पर्धा भएको छ । रोहित तेस्रोपटक आफू भाग्यशाली साबित हुँदै उपाधि जित्ने बताउँछन् । रोहित अहिले शानदार लयमा छन् । यस प्रतियोगितामा अपराजित एक मात्र खेलाडी रोहित लागतार दोस्रो फाइनल खेलिरहेका छन् ।
पछिल्लो प्रतियोगिता नेपाल मास्टर्स स्नुकर प्रतियोगितामा रोहित फाइनलमा सोम लामासँग पराजित भएका थिए । यद्यपि, यस प्रतियोगिता समूह चरणमा उनले सोमलाई हराएर सो हारको बदला लिइसकेका छन् । रोहित भन्छन्, ‘फाइनल जित्नु मेरा लागि धेरै महत्वपूर्ण छ । यहाँसम्म पुग्न धेरै मिहिनेत गरेको छु । तर, फाइनल सधैँ गाह्रो नै हुन्छ । आशा छ, ट्रफी उठाउनेछु ।’