पोखरा एभेन्जर्सले श्रीलंकाका अनुभवी अलराउन्डर पोथोतुवा अरच्चिगे धनञ्जय लक्षणलाई पुनः अनुबन्ध गरेको छ । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको पोखरा टोलीलाई मजबुत बनाउने उद्देश्यसहित विदेशी खेलाडी भित्र्याउने क्रममा श्रीलंकाली अलराउन्डर धनञ्जयलाई टोलीमा अनुबन्ध गरेको मालिक सुबोध त्रिपाठीले जानकारी गराए ।
पोखराले अनुबन्ध गरेका उनी तेस्रो विदेशी हुन् । यसअघि पोखराले टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर अजन्था विन्स्लो मेन्डिस बलापुवाडुगेलाई नियुक्त गरिसकेको छ । बंगलादेशका विश्वप्रसिद्ध क्रिकेटर साकिब अल हसन पनि पोखरामै आबद्ध भएका छन् ।
यसअघिको दोस्रो संस्करणमा समेत प्रभावशाली अलराउन्ड प्रदर्शनमार्फत टोलीलाई महत्वपूर्ण योगदान पुर्याएका आधारमा टोलीमा पुनः अनुबन्ध गरेको पोखरा एभेन्जर्स महाप्रबन्धक अमित लोहनीले बताए । ‘दोस्रो संस्करणमा उनले ब्याट र बल दुवैबाट प्रभाव पार्दै पोखराका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकाले तेस्रो संस्करणमा उनको आगमनले टोलीको अनुभव, टिम सन्तुलन र राम्रोसँगै बलियो र प्रतिस्पर्धी हुने विश्वास छ ।’
अनुभवी बलर
बायाँहाते ब्याट्सम्यान तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । लक्षणले श्रीलंकाका लागि तीन ओडिआई खेल खेलेका छन् । यस्तै, उनले टी–२० मा ७० खेल खेल्दै ४८ विकेट लिएका उनी घरेलु तथा विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका अनुभवी खेलाडी हुन् ।
कुशलकै कप्तानीमा खेल्ने
लिगका लागि पोखराले यसअघि गत जेठमा टोलीका मार्की खेलाडी कुशल भुर्तेलसहित सातजनालाई रिटेन गर्दा पाँचजनालाई रिलिज गरेको थियो । दोस्रोे संस्करणमा टोलीका मार्की खेलाडी भुर्तेलसहित अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरणकुमार ठगुन्नालाई तेस्रो संस्करणमा रिटेन अर्थात् निरन्तरता दिँदा दोस्रो संस्करणमा टोलीमा रहेका कृष्ण पौडेल, तृतराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्द गरी पाँचजना रिलिज भए । तेस्रो संस्करणका लागि पोखराले अक्सनमार्फत विवेक रानामगर, सुदीप आर्याल, सन्नी बिके, विपिन आचार्य तथा प्रतीक पोखरेललाई टोलीमा आबद्ध गरिसकेको छ ।