कालिकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि स्थानीयले हातपात गरेका छन्।
उपचारमा खटिएका चिकित्सक डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि साउन २२ गते स्थानीय व्यक्तिहरूले अस्पतालभित्रै हातपात तथा अभद्र व्यवहार गरेका हुन्।
घटनापछि जिल्ला प्रहरी कार्यालय कालिकोटले घटनाको सत्यतथ्य छानबिन र सुरक्षा व्यवस्था कडा बनाउन इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी निरीक्षक सत्यनारायण चौधरीको कमान्डमा विशेष प्रहरी टोली घटनास्थलमा खटाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश खत्रीका अनुसार स्वास्थ्य संस्थाजस्तो संवेदनशील स्थानमा भएको घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। घटनाबारे विस्तृत अनुसन्धानसमेत जारी रहेको उनले जानकारी दिए।