सत्तारूढ रास्वपाकी सांसद टीका संग्रौलाले पशुपति आर्यघाटमा दाहसंस्कार गर्दासमेत शुल्क तिर्नुपरेको विषयमा असन्तुष्टि जनाएकी छिन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद संग्रौलाले विपन्न नागरिकको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यले लिनुपर्ने प्रस्ट पारिन्।
पशुपति आर्यघाटमा दाहसंस्कार गर्न नसकेर नागरिकले आफूलाई सहयोगका लागि फोन गरेको उल्लेख गर्दै उनले भनिन्, ‘एउटा नागरिकले बाँचुन्जेल अनेक शीर्षकमा राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्यु हुँदै गर्दा उसको अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी राज्यको हुुनुपर्छ।’
विपन्न नागरिक मर्दा कम्तीमा एक भारी दाउरा, एउटा शरीरले ओगट्ने ठाउँ र एक काँटी सलाई राज्यले निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
‘जन्मेर कोक्रोमा चढ्दै गर्दा त हामीले कर तिरेर आयौँ, तर मरेर चितामा चढ्दै गर्दाखेरि पनि एउटा विपन्न नागरिकले विनासर्त निःशुल्क धुवाँमा उड्न नपाउने ? यो राज्य नागरिकमैत्री राज्य हुन सक्दैन,’ संग्रौलाले भनिन्।