नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आइएमई खल्ती लिमिटेड (खल्ती)का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने भएका छन्।
खल्तीले आफ्ना प्रयोगकर्ताका लागि उक्त कार्यक्रममा सहभागिताको व्यवस्था मिलाएको जनाएको छ। यसअनुसार खल्तीमार्फत रु. एक सयभन्दा बढीको योग्य डिजिटल भुक्तानी गर्ने प्रयोगकर्ता स्वतः दैनिक तथा पाक्षिक उपहार छनोटमा सहभागी हुनेछन्।
कार्यक्रमअन्तर्गत प्रत्येक दिन एकजना विजेताले कर कट्टीपछि रु. १ लाख प्राप्त गर्नेछन् भने प्रत्येक १५ दिनमा एकजना बम्पर विजेताले रु. १० लाख पुरस्कार पाउनेछन्। खल्तीका अनुसार योग्य कारोबारको विवरण सुरक्षित प्रणालीमार्फत स्वतः आन्तरिक राजस्व विभागको प्लाटफर्ममा पुग्नेछ। साथै, उपहार कुपन स्वतः सिर्जना हुने र प्रयोगकर्ताले त्यसलाई खल्ती एपमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।
विभागले प्रत्येक महिनाको १ र १६ गते स्वचालित प्रणालीमार्फत विजेता छनोट गरी मोबाइल फोन र इमेलमार्फत जानकारी गराउने जनाएको छ। खल्तीमार्फत सहभागी भई विजेता बनेका प्रयोगकर्तालाई कम्पनीले पनि आफ्ना विभिन्न माध्यमबाट जानकारी उपलब्ध गराउने बताइएको छ।
खल्तीले सरकारको यस पहलले बिलमा आधारित कारोबारको अभ्यास विस्तार गर्न, डिजिटल भुक्तानीप्रति उपभोक्ताको विश्वास अभिवृद्धि गर्न तथा कारोबारको अभिलेखीकरणलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। यसबाट औपचारिक अर्थतन्त्रको विस्तार र राष्ट्रिय राजस्व प्रणाली सुदृढीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।
आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सरकारको महत्त्वपूर्ण पहललाई खल्तीका प्रयोगकर्तासम्म सहज रूपमा पुर्याउन पाउँदा कम्पनी उत्साहित रहेको बताए। उनले सरकारी प्राथमिकतासँग सहकार्य गर्दै वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने र सुरक्षित, सहज तथा समावेशी डिजिटल वित्तीय सेवामार्फत प्रत्येक नेपालीलाई औपचारिक अर्थतन्त्रसँग जोड्ने प्रतिबद्धता दोहोर्याए।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड ‘खल्ती बाई आइएमई’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको छ। कम्पनीका अनुसार हाल एक करोड २७ लाखभन्दा बढी दर्ता भएका प्रयोगकर्तालाई डिजिटल भुक्तानी, मर्चेन्ट क्युआर, बिल भुक्तानी, टिकटिङ, रेमिट्यान्सलगायत विभिन्न वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।