उदयपुरमा कुकुर, बाँदर, स्याल, बिरालोलगायत जनावरले टोकेपछि तत्काल लगाउनुपर्ने रेबिजविरुद्धको भ्याक्सिन (एन्टिरेबिज भ्याक्सिन) सात महिनादेखि अभाव भएको छ। जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा खोप अभाव भएपछि सम्भावित रेबिज संक्रमित बिरामी उपचार नपाउने जोखिम बढेसँगै निजी स्वास्थ्य संस्थामा धाउन बाध्य छन् ।
स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार बेलका नगर अस्पताल रामपुर, चौदण्डीगढी नगर अस्पताल बेल्टार, प्रादेशिक जिल्ला अस्पताल गाईघाट, कटारी प्रादेशिक अस्पताल कटारी र एलबी कार्की अस्पताल लिम्चुङबुङ बाराहामा सात महिनादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव छ। उनले भने, ‘अभाव भएको सात महिना भयो । काठमाडौं आइपुगेको समाचार देखेको छु । अब बिस्तारै जिल्लामा आउँछ होला ।’
रेबिज लागेपछि उपचारको सम्भावना अत्यन्त न्यून हुने भएकाले जनावरले टोकेलगत्तै खोप लगाउनु नै जीवन बचाउने मुख्य उपाय हो । तर, उदयपुरमा अहिले सरकारी अस्पतालमा खोप खोज्दै पुग्ने बिरामीलाई ‘खोप छैन’ भन्ने जवाफ पाएपछि निजी स्वास्थ्य संस्थामा धाउन बाध्य छन् ।
प्रादेशिक जिल्ला अस्पताल गाईघाटका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुकेशकुमार झाका अनुसार समस्या उदयपुरमा मात्रै नभएर देशकै समस्या हो । ‘रेबिज खोप देशभर अभाव छ। प्रदेश सरकारसँग माग गरेका छौँ, तर हालसम्म प्राप्त भएको छैन । अहिले बिरामी आए उपचार व्यवस्थापनमै समस्या गरेको छ ।’
उनका अनुसार जिल्ला अस्पतालमा स्नेक एन्टिभेनम भने उपलब्ध छ, तर रेबिजविरुद्धको एउटा पनि डोज बाँकी छैन । रेबिज एक सय प्रतिशत घातक रोग मानिन्छ । तर, जनावरले टोकेलगत्तै समयमै खोप लगाए यसको संक्रमण रोक्न सकिन्छ। तर, खोप नहुँदा समस्या परेको डाक्टर झाको भनाइ रहेको छ ।