क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोकेर सुनकोशीमा हामफाले पराजुली

गोताखोर परिचालन गरी दुई दिनदेखि खोज्दा पनि फेला परेनन् पराजुलीदम्पती

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण
क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोकेर सुनकोशीमा हामफाले पराजुली

बुधबारदेखि बेपत्ता पराजुलीदम्पतीको खोजीमा गोताखोरको टोली । तस्बिर सौजन्य : देवराज केसी

दुई वर्षदेखि बोनम्यारो क्यान्सरसँग जुधिरहेकी श्रीमती । आफैँ पनि प्रोस्टेट रोगबाट पीडित । उपचारका लागि अस्पताल धाउँदाधाउँदै थकित भएपछि सुनकोशी नदीमा हामफाले, क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोकेर ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ स्थित दुलालेश्वर महादेव मन्दिरनजिक बुधबार साँझ करिब साढे ६ बजे ६८ वर्षीय केदारनाथ पराजुलीले ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हामफालेको प्रत्यक्षदर्शीको भनाइ छ । घटना भएको दोस्रो दिनसम्म दुवैजना बेपत्ता छन् ।

परिवारका अनुसार तिलकुमारी दुई वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । उनको काठमाडौंमा रहेको सिभिल अस्पतालमा उपचार भएको थियो । किमोथेरापीसमेत गरिएको थियो । तर, स्वास्थ्यले साथ नदिएपछि किमो रोकिएको थियो । पछिल्लो समय घरमै औषधि सेवन गर्दै आवश्यक परे मन्डनदेउपुर नगर अस्पतालमा उपचारका लागि लगिने गरिएको थियो । रोगका कारण उनी अपांगतासमेत भएकी थिइन् ।

श्रीमान् केदारनाथ पनि प्रोस्टेट रोगबाट पीडित थिए । केही दिनअघि मात्रै उपचारपछि उनको शरीरमा पिसाबको थैली झुन्ड्याइएको थियो ।

बेपत्ता दम्पतीका भतिजा प्रेम पराजुलीका अनुसार बुधबार दुवैजना घरमै थिए । छोराबुहारी काममा गएका थिए । साँझ घर फर्किँदा दुवैजना घरमा थिएनन् । सुरुमा अस्पताल गएको अनुमान गरियो । तर, नगर अस्पतालमा सम्पर्क गर्दा उनीहरू नपुगेको जानकारी आयो ।

त्यसपछि खोजी गर्दै जाँदा उनीहरूले ट्याक्सी प्रयोग गरेको खुलेको थियो । ट्याक्सीचालकसँग सम्पर्क गर्दा दम्पतीले आफूहरू ‘धामी हेर्न जाने’ भन्दै दोलालघाटसम्म लगेर छाड्न आग्रह गरेका थिए । त्यहाँ पुगेपछि एक हजार रुपैयाँ भाडा तिरेर आफूलाई फर्काइदिएको उनले जानकारी दिएका थिए । त्यसपछि आएको सूचनाले परिवारलाई स्तब्ध बनायो ।

दुलालेश्वर महादेव मन्दिरका पुजारीले बोलाउँदाबोलाउँदै केदारनाथले श्रीमतीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हामफालेको जानकारी परिवारले पाएको भतिज प्रेमले बताए । 

परिवारका अनुसार आर्थिक अभावका कारण उपचार रोकिएको अवस्था भने थिएन । मन्डनदेउपुर नगरपालिका– ७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि पराजुली परिवार आर्थिक रूपमा समस्याग्रस्त नभएको बताए । बेपत्ता दम्पतीका एक छोरा र तीन छोरी छन् ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, गोताखोर टोली तथा ड्रोनको प्रयोग गरेर दिनभर खोजी गरिएको थियो । तर, बिहीबार पनि दुवैजनाको अवस्था पत्ता लाग्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार शुक्रबार पनि खोजी कार्यलाई निरन्तरता दिइनेछ ।

सिभिल अस्पतालमा मात्र हुन्छ बोनम्यारोको उपचार

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले बोनम्यारो नेपालमा जटिल समस्याको रूपमा रहेको र यसको उपचारका लागि स्रोत–साधनदेखि जनशक्तिसम्मको अभाव रहेको बताए । उनका अनुसार हाल सरकारी अस्पतालमध्ये सिभिल अस्पतालमा मात्रै यसको उपचार हुन्छ । ‘रगतसम्बन्धी क्यान्सर बोनम्यारोबाट हुने हो, यसलाई मल्टिपल माइलोमा पनि भनिन्छ,’ उनले भने, ‘यो निकै नराम्रो किसिमको क्यान्सर हो, अति दुखाइ हुन्छ र खर्चिलो पनि । निको हुन कठिन हुन्छ, भक्तपुर क्यान्सर अस्पतालमा बोनम्यारोको उपचार हुँदैन ।’

महाराजगन्जस्थित शिक्षण अस्पतालले यो सेवा दिने योजना बनाए पनि अझै सुरु हुन सकेको छैन । शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार हाल नेपालमा बोनम्यारोसम्बन्धी पाँच–सातजना मात्रै विशेषज्ञ डाक्टर छन् । यो रोगको उपचारसम्बन्धी राम्रो नीति, राम्रो योजना र उपचार सेवा नहुँदा बिरामी मारमा रहेको आचार्यले बताए । नेपालमा बोनम्यारो क्यान्सरका रोगीको वास्तविक संख्या कसैसँग पनि छैन । अधिकांश बोनम्यारोका रोगी उपचारका लागि भारतलगायतका देशमा जाने गरेका छन् ।

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो । चिकित्सकका अनुसार शरीरको फ्ल्याट हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्तकोष (आरबिसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्स बढ्ने गर्छ । बोनम्यारो रोग एप्लास्टिक एनिमिया र रक्त क्यान्सर वा बोनम्यारो क्यान्सर गरी तरिकाको हुन्छ । यी दुवै रोगले बोनम्यारोको नियमित काममा बाधा ल्याइदिन्छ र बोनम्यारोमा बढ्नुपर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बढ्न पाउँदैन । यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । बोनम्यारो सुईबाट रगत झिक्ने वा बोनम्यारो झिक्ने र सुईबाटै राख्ने विधि हो ।

सुझावित समाचार