जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काठमाडौं उपत्यकाको यातायात सेवालाई व्यवस्थित बनाउन एक सुरुङमार्ग र दुई एलिभेटेड हाइवे बनाउने प्रस्ताव गरेको छ । जाइकाले आफ्नै खर्चमा दुई वर्ष लगाएर तयार गरेको ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’मार्फत यस्तो प्रस्ताव गरेको हो ।
गुरुयोजनामा उपत्यकाभित्र यातायातसम्बन्धी २२ वटा पूर्वाधार परियोजना छन् । यातायात सेवासम्बन्धी भने १३ कार्यक्रम प्रस्ताव गरिएको छ । अल्पकालीन वर्गका आयोजना सन् २०३२, मध्यकालीन वर्गका सन् २०४० र दीर्घकालीन वर्गका २०५० सम्म निर्माण गर्ने लक्ष्य राखिएको छ । त्यसमा चाबहिलदेखि गौशालासम्म अन्डरग्राउन्ड सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । त्यसको लम्बाइ १५ सय ६२ मिटर लामो हुनेछ । चार लेनको हुने सुरुङमार्गलाई दीर्घकालीन योजनामा राखिएको र यो सुरुङमार्ग २०५० भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
जाइकाले आफ्नै सहयोगमा यसको गुरुयोजना तयार गरेको हो । सन् २०५० सम्ममा उपत्यकामा हुन सक्ने जनसंख्या र त्यसका लागि आवश्यक पर्ने यातायात सेवा तथा पूर्वाधारलाई केन्द्रित गरेर बनाइएको मस्यौदामा अहिले जाइकाले सरोकारवालाको सुझाव पनि संकलन गरिरहेको छ । प्राप्त सुझावका आधारमा उक्त गुरुयोजना स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने पूर्वाधार विकास मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख तथा सहसचिव सुशीलबाबु ढकालले बताए ।
मन्त्रिपरिषद्बाट स्वीकृति भएसँगै उल्लिखित आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन (डिपिआर), निर्माण मोडालिटीलगायतका प्रक्रिया टुंग्याएर निर्माणमा प्रवेश गराइनेछ । यही क्रममा जाइकाले बिहीबार काठमाडौंमा सरोकारवालासँग छलफल पनि गरेको छ ।
दुईवटा एलिभेटेड हाइवे बनाउन प्रस्ताव
गुरुयोजनाले उपत्यकामा दुईवटा एलिभेटेड हाइवे बनाउन प्रस्ताव गरेको छ । त्यसमा चाबहिलदेखि बागमती रिभरसम्म एलिभेटेड हाइवे बनाउन भनिएको छ, जुन दुई लेनको ३४ सय मिटर लामो हुनेछ । यस्तै, विष्णुमती रिभर करिडोर एलिभटेड हाइवे पनि प्रस्ताव गरिएको छ । गोंगबुबाट सुरु भएर टोखासम्म पुग्ने भनिएको यो सडक ३६ सय २० मिटर लामो हुनेछ । चार लेनमा यो सडक बनाउन प्रस्ताव गरिएको छ । यी परियोजना २०५० भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
एलिभेटेड हाइवे जमिनको पिलरको सहारामा त्यसमाथि निर्माण गरिएको सडक हो । यो फ्लाई ओभरभन्दा उच्चस्तरको प्रविधि हो । सामान्यतया एउटा चोक वा सानो दूरी पार गर्न फ्लाई ओभर बनाइन्छ । एलिभेटेड हाइवे भने लामो दूरीका लागि बनाइन्छ । जसमा दुई वा त्योभन्दा बढी चोक निर्बाध रूपमा सोझै पार गर्न सकिन्छ ।
महाराजगन्जमा ३०८ मिटर लामो अन्डरपास
ट्राफिक जामले सधैँ प्रभावित भइरहने चक्रपथको महाराजगन्जमा तीन सय आठ मिटर लामो अन्डरपास बनाउन प्रस्ताव गरिएको छ । चार लेन डिजाइनमा उक्त अन्डरपास बनाउन प्रस्ताव गरिएको जाइकाको भनाइ छ । यो परियोजना तत्काल अघि बढाउने योजनामा छ । अर्थात्, २०३२ भित्रै यो परियोजना बनाउन भनिएको छ ।
त्रिपुरेश्वर र थापाथलीको जाम हटाउन नदी करिडोर
हाल अत्यधिक जाम हुने क्षेत्र त्रिपुरेश्वर र थापाथलीको जाम हटाउन बागमती नदीमा छुट्टै करिडोर प्रस्ताव गरिएको छ । दुई लेन डिजाइन हुने गरी प्रस्ताव गरिएको उक्त करिडोरको लम्बाइ नौ सय ५८ मिटर हुनेछ । नदीको दायाँ किनारमा उक्त करिडोर प्रस्ताव गरिएको छ, जहाँ अहिले सडक छैन ।
रत्नपार्कदेखि सूर्यविनायकसम्म मेट्रोरेल, चक्रपथमा द्रुत बस सेवा
जाइकाले रत्नपार्कदेखि सूर्यविनायकको जगातीसम्म मेट्रोरेल सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । पूर्वाधारतर्फ नभएर सार्वजनिक यातायात कार्यक्रमअन्तर्गत जाइकाले १४.६ किमि लामो मेट्रोरेल सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । दीर्घकालीन योजनाअन्तर्गत राखिएको यो परियोजना २०५० भित्र सञ्चालनमा ल्याउनुपर्ने प्रस्ताव गरिएको छ । मास ट्रान्जिटअन्तर्गत यो प्रस्ताव गरिएको हो । यस विषयमा थप विस्तृत अध्ययन आवश्यक रहेको सहसचिव ढकालले जानकारी दिए । यसैगरी, चक्रपथमा द्रुत बस सेवा (बिआरटी) सञ्चालन गर्न पनि प्रस्ताव गरेको छ । वित्तीय रूपमा आकर्षक नभएपछि यसअघि लगानी बोर्डको कार्यालय चक्रपथमा द्रुत बस सेवा परियोजना बनाउने योजनाबाट पछि हटिसकेको छ । त्यो अवस्थामा जापानले चक्रपथमा बिआरटी सञ्चालन गर्न प्रस्ताव गरेको छ । मध्यकालीन योजनामा राखिएको बिआरटी २०४० सम्म सञ्चालनमा ल्याउने भनिएको छ ।
पाँचवटा नयाँ पुल
जाइकाले पाँच ठाउँमा नयाँ पुल बनाउन प्रस्ताव गरेको छ । विष्णुमती, धोबीखोला, कर्मा नासा (गोदावारी सडक), बागमती र ग्वार्कोमा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको छ ।
स्तरोन्नतिका चार परियोजना
जाइकालले हालका सडक तथा पुल स्तरोन्नति गर्न चार परियोजना प्रस्ताव गरेको छ । चक्रपथ विस्तार (गौशाला–तीनकुने खण्ड), बागमती नदीआसपासका कच्ची सडक सुधार, बालाजु विष्णुमती करिडोर र युनएन पार्कलाई स्तरोन्नति गर्न प्रस्ताव गरिएको छ ।
चक्रपथमा युटिलिटी करिडोर, रत्नपार्कमा अन्डरग्राउन्ड पार्किङ
जाइकाले चक्रपथसहित मुख्य सडकमा अन्डरग्राउन्ड युटिलिटी करिडोर बनाउन प्रस्ताव गरेको छ । यस्तै, रत्नपार्क क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ बनाउन पनि प्रस्ताव गरिएको छ । यसैगरी ठमेल, दरबारमार्ग, पाटन दरबार क्षेत्रलाई कार फ्री जोन बनाउन भनिएको छ ।
काठमाडौंको उत्तरी क्षेत्रमा १८ किमि लामो कनेक्टिङ सडक
जाइकाले काठमाडौंका उत्तरी क्षेत्रमा १८ किमि लामो कनेक्टिङ सडक बनाउन प्रस्ताव गरेको छ । तारकेश्वरबाट बुढानीलकण्ठ हुँदै सूर्यविनायकसम्म पुग्ने उक्त सडक चार लेनमा बनाउन प्रस्ताव गरिएको छ । यसले सहरको छेउछाउमा भइरहेको बस्ती विकासलाई काठमाडौं सहरसँग जोड्न सहज हुनेछ । यसमा उत्तरी क्षेत्रमा हाल सञ्चालनमै रहेको सडकलाई पनि स्तरोन्नति गर्न भनिएको छ, जसको लम्बाइ ११.३ किमि हुनेछ ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल भन्छन्—
हामीले मिलेर अध्ययन तथा सुझाव संकलनको काम गरेका छौँ । प्राप्त सुझावका आधारमा गुरुयोजनालाई अन्तिम रूप दिएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछौँ । त्यहाँबाट स्वीकृति भयो भने कार्यान्वयनमा अघि बढ्छ ।