साँगुरीगढीबाट ६४७ किलो गाँजासहित दुईजना पक्राउ

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित कोशी लोकमार्गबाट सवारी चेकजाँचको क्रममा प्रहरीले ठुलो मात्रामा लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्दा ६४७ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए। प्रहरीले ट्रकचालक मकवानपुर कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ र सोही ट्रकमा सवार धनकुटा सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलाराम राईलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई आजै जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारी क्षेत्रीले बताए। 

यसैबिच जिल्ला प्रहरी कार्यालय धनकुटाले साउन महिनाको हालसम्म जिल्लाका विभिन्न पालिकाहरूमा १९ हजार १५० बोट गाँजा फँडानी गरी नष्ट गरेको छ। धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा करिब ४३ रोपनी क्षेत्रफलमा लगाएको गाँजाको ११ हजार ८५० वटा बोट र ७ हजार ३ सय विरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नारायण रन्जितकारले बताए।

सुझावित समाचार