नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’को औपचारिक शुभारम्भ गरिएको छ। ‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत यस राष्ट्रिय अभियानको शुभारम्भ गरिएको हो।
स्टार्टअपहरुको विश्वव्यापी अनुभवलाई आत्मसात् गर्दै नेपालमा पनि नवप्रवर्तनमा आधारित उद्यमशील संस्कृतिको विकास गर्ने उद्देश्यले नीति रिसर्च प्रालिले स्टार्टअप समिट नेपाल–२०२६ अभियान सुरु गरिएको हो।
नेपालमा बढ्दो ‘ब्रेन ड्रेन’लाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्दै युवाहरूको सिर्जनशीलता, ज्ञान, सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानले देशभरका विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार, व्यवसाय सञ्चालनका चुनौती तथा जोखिम व्यवस्थापन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको सम्भावना लगायतका विषयमा व्यवहारिक तथा तथ्यपरक जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको हो। आगामी दिनमा काठमाडौं विश्वविद्यालयसहित देशभरका विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। यस अभियानमार्फत सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, लगानीकर्ता र युवाबीच सहकार्यको वातावरण निर्माण गरी नेपालमा सशक्त स्टार्टअप इकोसिस्टम विकास गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा ले विश्वविद्यालय शिक्षालाई रोजगारमुखी मात्र नभई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाललाई समृद्ध बनाउने अभियानमा स्टार्टअपको महत्वपूर्ण भूमिका रहने बताए।
कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमीहरूको सहभागिता थियो। साथै, वैदेशिक रोजगारीबाट नेपाल फर्किएर स्टार्टअप कर्जा उपयोग गरी सफल व्यवसाय स्थापना गरेका नेपाली उद्यमीहरूको प्रेरणादायी वृत्तचित्र प्रदर्शन गरिएको थियो। उक्त वृत्तचित्रले सहभागी विद्यार्थी तथा युवामा उत्साह र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ।