नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसदमा सांसदहरूलाई प्रश्न नगर्न दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। कांग्रेसले संसदीय व्यवस्थामा सांसदलाई सरकारसँग प्रश्न गर्ने अधिकार मौलिक रहेको भन्दै त्यसलाई सीमित गर्न नमिल्ने स्पष्ट पारेको छ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा केही विषयमा प्रश्न नगर्न र आवश्यक परे व्यक्तिगत रूपमा भेटेर जानकारी लिन सुझाव दिएका थिए।
गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले बैठकमै विरोध जनाए। उनले लोकतान्त्रिक तथा संसदीय व्यवस्थामा मन्त्रीले सांसदलाई प्रश्न नगर्न भन्नु असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे।
निर्मला पन्त हत्या प्रकरणलगायत विषयमा प्रश्न नगर्न गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कर्णले संसद् जनताको आवाज उठाउने सर्वोच्च थलो भएको बताए। उनले सांसदहरू सरकारसँग जनसरोकारका विषयमा प्रश्न गर्ने प्रतिनिधि भएकाले त्यसलाई रोक्न खोज्नु संसदीय अभ्यासविपरीत हुने उल्लेख गरे।
कर्णले दुईतिहाइनजिकको समर्थन प्राप्त सरकारका मन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुको सट्टा सांसदलाई नै प्रश्न नगर्न आग्रह गर्नु सरकारको जवाफदेहितामाथि प्रश्न उठाउने विषय भएको बताए।
‘मन्त्रीलाई सबै प्रश्नको जवाफ दिन सहज नहुन सक्छ, तर सांसदहरूले प्रश्न सोध्ने अधिकार भने सुनिश्चित हुनुपर्छ। त्यो अधिकार कुनै पनि अवस्थामा खोस्न मिल्दैन,’ उनले भने।