दाङमै धागोबाट ‘ए फर एप्पलदेखि जेठ फर जेब्रा’ बनाउने महिला

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

दाङको घोराहीस्थित स्वप्न होजेरी उद्योगमा ऊनका रंगीचंगी धागोसँगै महिलाहरूको नयाँ सपना बुनिँदै छ। हिजोसम्म घरधन्दा र छोराछोरीलाई विद्यालय पठाएपछि खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहेका महिलाहरू अहिले सिप सिकेर व्यावसायिक बन्न थालेका छन्। उनीहरूका हातमा क्रुरुस र सियो मात्र छैन, आत्मनिर्भर बन्ने आत्मविश्वास पनि देखिन्छ।

यस्तै पात्रमध्येकी एक हुन्, सुमिला नेपाली। दाङको बंगलाचुली घर भई हाल नवलपुर बस्दै आएकी सुमिला अहिले ऊनका धागोबाट विभिन्न सामग्री बनाउन व्यस्त छिन्।

‘पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बितेको पत्तै हुँदैनथ्यो,’ उनले विगत सम्झिँदै भनिन्।

साउन ६ गतेदेखि ऊनबाट शैक्षिक सामग्री बनाउन सिक्न थालेकी सुमिला अहिले स्याउ, सुन्तला, गाँजर र आकर्षक डलहरू बनाउन सिपालु भइसकेकी छिन्। पहिलोपटक यस्तो सीिप सिकिरहेकी उनी नयाँ कुरा सिक्न पाउँदा खुसी भएको बताउँछिन्।

सुमिलासँगै पूर्वी रुकुमकी झरना बुढामगर पनि यो अभियानमा जोडिएकी छिन्। प्लस टु सकेर नवलपुर बसिरहेकी झरनाले खाली समयको सदुपयोग गर्न यो सिप रोजेकी हुन्। अहिले उनी विद्यालयका लागि आवश्यक वर्णमाला र खेलौनाहरू बनाउन व्यस्त छिन्।

‘एप्पलदेखि जेब्रासम्म (ए टु जेट) का सामग्री र विभिन्न डलहरू बनाउन सिक्दैछौँ,’ उनले उत्साहित हुँदै भनिन्। धागो, क्रुरुस र सियोकै माध्यमबाट सानो लगानीमा बालबालिकाका लागि उपयोगी सामग्री बनाउन सकिने भएकाले यो कामलाई निरन्तरता दिने उनको सोच छ।

महिलाहरूलाई संगठित गर्ने, सिप सिकाउने र बजारसम्म पुर्याउने कामको नेतृत्व स्वप्न होजेरी उद्योगकी प्रमुख रचना सुवेदीले गरिरहेकी छिन्। दाङको घोराहीमा मुख्य उद्योग रहेको यस संस्थाले महिलालाई तालिमसँगै रोजगारीमा जोड्दै आएको छ।

रचनाका अनुसार विद्यालयहरूले ‘ए देखि जेठ’ सम्मका शैक्षिक सामग्री धागोबाटै बनाउन थालेपछि यसको माग बढेको छ। यस्ता सामग्री विद्यार्थीलाई सिकाउन सहज, वातावरणमैत्री र बालबालिकाका लागि सुरक्षित हुने उनको भनाइ छ।

‘ऊनबाट बनेका यी सामान बालबालिकाका लागि सुरक्षित छन्। अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुन्छ र पुनः प्रयोग गर्न पनि सकिन्छ,’ उनले भनिन्।

हाल उद्योगले धागोबाट ५६ प्रकारका सामग्री बनाउन सफल भएको रचना बताउँछिन्। उनको उद्देश्य व्यापार मात्र नभई स्वरोजगार सिर्जना गर्नु पनि हो।

अहिले उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन्। काम सिकाउने र रोजगारी दिने गरिएको भन्दै उनले बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरेको बताइन्। ‘ए टु जेठ’ सेट पाँच हजार रुपैयाँमा बिक्री हुने र त्यसको आधा रकम श्रमिकले पाउने व्यवस्था रहेको उनले जानकारी दिइन्।

हालसम्म २५ भन्दा बढी सेट विभिन्न बोर्डिङ स्कुलमा बिक्री भइसकेका छन्। पछिल्लो समय यसको माग बढ्दै गएको उद्योगले जनाएको छ।

०६३ सालमा घोराहीमा स्थापना भएको स्वप्न होजेरी उद्योगले त्यसयता होजेरीसम्बन्धी तालिम दिँदै आएको छ। उद्योगले विभिन्न जिल्लामा पुगेरसमेत तालिम प्रदान गर्दै आएको छ, जसबाट धेरैले रोजगारीको अवसर पाएका छन्।

सुझावित समाचार