सरकारले नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी कर्मचारीको बढेको तलब, ग्रेड र मासिक प्रोत्साहन भत्ता कायम गरेको छ।
अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई परिपत्र गर्दै वृद्धि भएको तलब तथा सुविधा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
नयाँ व्यवस्थाअनुसार निजामती सेवाका मुख्यसचिवको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ। मुख्यसचिवको सुरु स्केल ८४ हजार ९३२ रुपैयाँ रहनेछ भने दुई ग्रेड थपिने व्यवस्था गरिएको छ। नेपाली सेनाका प्रधानसेनापतिको तलब पनि मुख्यसचिवसरह हुनेछ।
यस्तै, विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ। अवकाशप्राप्त सचिवले पेन्सनबापत ६६ हजार ५३९ रुपैयाँ पाउनेछन्।
नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, स्वास्थ्य सेवाका १२औँ तहका अधिकृत र संसद् सेवाका सचिवको तलब पनि निजामती सेवाका सचिवसरह निर्धारण गरिएको छ।
अर्थ मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद् र स्थानीय तहलगायतका कर्मचारीको तलब तथा भत्तासमेत नयाँ दरअनुसार कायम गरेको जनाएको छ।