धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटार चोकबाट ट्रकमा लुकाइछिपाई ल्याइएको ६४७ किलोग्राम गाँजासहित चालक र सहचालक पक्राउ परेका छन्।
बिहीबार बिहान करिब ५:३० बजे कोशी लोकमार्ग हुँदै विराटनगरतर्फ जाँदै गरेको ना.३ ख ५०९५ नम्बरको ट्रकलाई प्रहरीले नियमित चेकजाँचका लागि रोकेको थियो। जाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको पुष्टि भएको छ।
घटनामा संलग्न रहेको आरोपमा ट्रकचालक मकवानपुरको कैलाश गाउँपालिका– ३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका– १ निवासी ३६ वर्षीय तुलराम राईलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवैजनामाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।