नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप ६ उपसमिति गठन गरिएको छ। बुधबार प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले उपसमिति गठन गरी संयोजक तोकेको हो।
नवगठित अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको संयोजकमा सुमित शर्मा ‘समीर’ छन् भने उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमितिको संयोजक कैलाश केसी तोकिएका छन्।
यसैगरी, यौनिक तथा लैंगिक अल्पसंख्यकसम्बन्धी नीति तथा कार्ययोजना उपसमिति संयोजकमा प्रतीक्षा चापागाईं, ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति संयोजकमा अनुपा श्रेष्ठ छन्।
सीमान्तीकृत वर्ग र समुदाय–संवाद र सशक्तीकरण उपसमिति तथा स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमितिको संयोजकको जिम्मेवारी क्रमशः नरेन्द्र पासवान र डोलराज भुसाललाई दिइएको छ।
प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ उपसमिति गठन भएका कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामा उल्लेख छ।