प्रतिबन्धित लागुऔषध (खैरो हेरोइन)सहित धनकुटा नगरपालिका– १, हिले क्याम्पसनजिकबाट एक युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेबाट खटिएको संयुक्त प्रहरी टोलीले धनकुटा नगरपालिका– १, हिले क्याम्पसनजिक सडकमा शंकास्पद रूपमा हिँडिरहेका पाख्रिबास नगरपालिका– ७, मुगाका ३२ वर्षीय हरि तामाङलाई खानतलासी गर्ने क्रममा प्रतिबन्धित लागुऔषध (खैरो हेरोइन)सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
तामाङमाथि खानतलासी गर्ने क्रममा निजले लगाएको खैरो रङको ट्रयाकको बायाँपट्टि अगाडितर्फको गोजीमा लुकाइछिपाई राखेको अवस्थामा प्लास्टिकमा पोको पारी प्रतिबन्धित लागुऔषध (खैरो हेरोइन)जस्तो देखिने लिसाइलो पदार्थ एक ग्राम बरामद गरिएको प्रहरीले बताएको छ । उनको साथबाट खैरो हेरोइनसहित सेतो रङको एन्ड्रोइड मोबाइल एकथान पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका तामाङलाई लागुऔषधअन्तर्गतको मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।