एलआरआई, मित्रश्री पाठशाला र ब्रह्मकुञ्जले पाँचौँ भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । एलआरआई यू–१६ पुरुष, मित्रश्री पाठशाला यू–१२ पुरुष र ब्रह्मकुञ्ज यू–१६ महिलातर्फ च्याम्पियन बनेका हुन् ।
सिनियर पुरुषको फाइनलमा एलआरआईले निम्सलाई टाइब्रेकरमा २–० ले पराजित गर्यो । यू–१२ पुरुषको उपाधि भिडन्तमा मित्रश्रीले नेसनल ब्लुमिङ फ्लावर एकेडेमी (एनबिएफए)लाई २–१ ले हरायो । यसैगरी, यू–१६ महिलाको उपाधि भिडन्तमा ब्रह्मकुञ्जले कौस्तुभ एकेडेमीमाथि १–० को जित निकाल्यो । ब्रह्मकुञ्जकी दीक्षा कँडेलले निर्णायक गोल गरिन् ।
यू–१६ पुरुषमा एलआरआईका आशुतोष महतारा उत्कृष्ट खेलाडी, एलआरआईका दीक्षान्त शर्मा उत्कृष्ट गोलरक्षक र रिब्सका रिसन लामा सर्वाधिक गोलकर्ता भए । यू–१२ पुरुषमा एनबिएफएका सुप्रभ श्रेष्ठ उत्कृष्ट खेलाडी, मित्रश्रीका कृष श्रेष्ठ उत्कृष्ट गोलरक्षक र रिब्सका आक्रिस खत्री सर्वाधिक गोलकर्ता बने ।
यू–१६ महिलामा ब्रह्मकुञ्जकी दीक्षा कँडेल उत्कृष्ट खेलाडी, ब्रह्मकुञ्जकै वेहेलिङ राई उत्कृष्ट गोलरक्षक र प्याराडाइस रिडर्स एकेडेमीकी आराध्या श्रेष्ठ सर्वाधिक गोलकर्ता बनेका छन् । प्रतियोगितामा यू–१६ पुरुषमा २६ टोलीले भाग लिएका थिए । यू–१२ पुरुषमा र यू–१६ महिलामा समान १६ टोली सहभागी थिए ।