गलत उजुरीका आधारमा उद्योगीको घरमा छापा मारिएकोप्रति प्रहरीले माग्यो माफी

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण
  • सोमबार औद्योगिक घराना देवेनारा ग्रुपका सञ्चालक प्रकाश मुन्दडाको घरमा मोरङ प्रहरीले पाँच घण्टा छापा मार्दा पनि केही फेला पार्न सकेको थिएन

गलत उजुरीका आधारमा प्रतिष्ठित औद्योगिक घराना देवेनारा ग्रुपका सञ्चालक प्रकाश मुन्दडाको घरमा दलबलसहित छापा मारेको विषयमा कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी शेखर खनालले माफी मागेका छन् । डिआइजी खनालले मंगलबार विराटनगर रानीस्थित कार्यालयमा उद्योगी–व्यवसायीलाई बोलाएर सडकमै प्रहरी फौज तैनाथ गरेर मोरङ प्रहरीले गल्ती गरेको भन्दै आफ्नोतर्फबाट क्षमा मागेका थिए । उनले भने, ‘मैले सादा पोसाकमा थोरै जानु भनेको थिएँ, तर त्यसरी धेरै फौज नै किन लानुपरेछ, यसबारे म स्पष्टीकरण माग्नेछु ।’

छलफलमा उद्योगीहरूले आर्थिक संकटमा परेका निजी क्षेत्रलाई विश्वास र भरोसा दिनुपर्नेमा विनाआधार छापा मारेर त्रसित बनाएको गुनासो गरेका थिए । वर्षौँ लगाएर कमाएको मानप्रतिष्ठा नै धूलिसात् हुने गरी छापा मारेर उद्योगीहरूलाई त्रसित बनाउने हो भने नेपालमा कसैले पनि लगानी गर्न नसक्ने अवस्था आउन सक्ने चेतावनी उद्योगीहरूले दिएका थिए । छलफलमा सहभागी उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले भने, ‘हामीले त नयाँ सरकारको बजेटलाई पनि राम्रो भनेर स्वागत गरेका थियौँ । संकटमा परेका उद्योगीहरूलाई अब सरकारले केही राहत दिन्छ भन्ने विश्वास पनि लिएका थियौँ । तर, विनाआधार उद्योगीहरूलाई त्रसित बनाएर सरकारले निजी क्षेत्रसँगको विश्वास गुमाउन खोजेको छ, यो राम्रो भएन ।’ 

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडा, उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतलगायतको सहभागी थियो । 

मोरङका एसपी कवित कटुवाललाई चौबिसघण्टे स्पष्टीकरण 
उद्योगी–व्यवसायीसँगको छलफलपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङ प्रहरी प्रमुखलाई छापा मार्नुको कारण खुलाएर चौबिस घण्टाभित्र जानकारी दिन परिपत्र गरेको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिह थापाले छापा किन र के कारणका लागि कसरी मारिएको थियो भनेर थप जानकारी लिन परिपत्र गरिएको जानकारी दिए । उनले भने, ‘कारबाहीका लागि हैन, घटना किन र कसरी भयो भनेर थप बुझ्नका लागि जानकारी मागिएको हो, अन्यथा हैन ।’ 

सोमबार नाम, ठेगाना र फोन नम्बरसहितको फेक उजुरीका आधारमा मोरङका एसपी कवित कटुवाल नेतृत्वको टोलीले विराटनगरका औद्योगिक घराना देवेनारा ग्रुपको निवासमा छापा मारेको थियो । विराटनगर महानगरपालिका– ७, गोल्छाचोकस्थित मुन्दडा निवासमा सोमबार मोरङ प्रहरीले पाँच घण्टा छापा मार्दा पनि केही फेला नपरेपछि सिंगो प्रहरीको चर्को अलोचना भएको छ । 
 

See More On

सुझावित समाचार